मौद्रिक नीति चुहिएपछि सेयर बजारमा उछाल !

  २०७७ असार १७ गते १७:३७     विकासन्युज

काठमाडौं । तीन महिनादेखि बन्द रहेको बजार खुलेको दोश्रो दिनदेखि सर्किट ब्रेक लाग्दै आएको छ । बजार खुलेको पहिलो दिन गत सोमबार बजार घटेर एक पटक सर्किट ब्रेक लागे पनि पछि बाउन्स व्याक भयो ।

मंगलबार र बुधबार दुबै दिन भने बजारमा बढी उछाल देखिएपछि तीन पटकसम्म सर्किट ब्रेक लगाएर निर्धारित समय अगावै बन्द गर्नु पर्यो ।

कोभिड-१९ ले लगानीकर्ताको मनोबलमा असर परेको र आगामी वर्षकाे आर्थिक बजेटले पनि सेयर बजारलाई सम्बोधन नगरेकोले सेयर बजार अत्याधिक घट्छ भन्ने लगानीकर्ताले अनुमान गरेका थिए । तर उनीहरुको अनुमान विपरित बजार बढीरहेको छ ।

यस्ताे छ बजार बढ्नुकाे कारण

बजारमा अधिक तरलता बढेपछि सेयर बजारमा उछाल देखिन थालेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नुले बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

त्यस्तै, कोभिड-१९ ले गर्दा अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकोले सेयर बजार नै लगानी गर्नको लागि सबैभन्दा उत्तम रहेकोले बजारमा उछाल आएको सेयर विश्लेषकहरु बताउँछन् ।

त्यसैगरी, अनलाइन सफ्टवेयरले खातामा भएको सेयर मात्रै बेच्न पाउने व्यवस्था रहेको छ । त्यसले बजारमा सेयर बिक्रीको आपूर्ति नआएको र किन्नको लागि अत्याधिक माग बढेको जानकारहरु बताउँछन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता आउँदै छ । जसले धितोपत्र बजारलाई सम्बोधन गर्ने अत्याधिक सम्भावना रहेको छ । नेपाल धितोपत्र बोर्डले ६५ प्रतिशत रहेको सेयर धितोमा मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले पनि अबको मौद्रिक नीतिमा बोर्डको आग्रहलाई सम्बोधन गर्ने पक्कापक्की जस्तो भइसकेको बुझिएकाे छ । यसले पनि पुँजीबजारमा सकारात्मक प्रभाव पारेको हुन सक्छ ।

बुधबारको बजार खुलेको करिब डेढ घण्टामै बन्द भयो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा करिब ३० मिनेटमात्रै सेयर कारोबार भयो । बजार खुलेको १३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।

त्यसपछि बजार खुलेको २ मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि पुनः सकारात्मक सर्किट ब्रेक लाग्यो र ४० मिनेटको लागि कारोबार बन्द भयो । उक्त समय पश्चात अर्थात १२ बजेर १५ मिनेटमा सेयर कारोबार पुनः सुचारु भएको थियो । तर त्यसपछि १५ मिनेट नबित्दै परिसूचक ६ प्रतिशतले बढेर १२ बजेर २४ मिनेट मै सो दिनको लागि कारोबार बन्द भएको हो । अर्थात बुधबारको बजार अढाई घण्टा अगाडि नै बन्द भएको हो ।

बुधबारकाे बजारमा अधिकांश कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । सबैभन्दा बढी जीवन बीमा कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेकाे छ ।

बुधबारको नेप्से परिसूचक ७२.७७ अंकले बढेर १३३६.५२ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.१० अंक अर्थात ५.५५ प्रतिशतले बढेर २८७.०२ अंकमा पुगेको छ ।

बजारमा कूल १३५ कम्पनीको ४० करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएको १२ समूहमध्ये होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको सूचक ५४८.५३ अंकले उकालो लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.