मनसुनको पहिलो पन्ध्र दिन: गत वर्षभन्दा बढी मानवीय क्षति

  २०७७ असार १६ गते १८:१७     नारायण ढुङ्गाना

काठमाडौं ।  पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो ।

सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । घटना १६ ले कमी आएपनि मानवीय क्षति भने दोब्बर बढी अर्थात गत वर्ष १४ को मृत्यु भएकामा १७ बढेर यस वर्ष ३१ जनाले ज्यान गुमाए । पहिरोबाहेक यो अवधिमा चट्याङबाट १० र सर्पको टोकाइबाट तीन जनाको ज्यान गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

पछिल्लो १० वर्षको उक्त १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा विसं २०७० मा सबैभन्दा बढी बाढी, पहिरोका घटना भएको थियो । बाढीका ४९ र पहिरोका २३ घटना भएकोमा त्यस साल बाढीबाट ५२ र पहिरोबाट ३० गरी ८२ जनाले ज्यान गुमाएका थिए । त्यसपछि अहिले नै बढी मानवीय क्षति भएको छ । यस वर्ष मनसुन शुरु भएपछिको १५ दिनमा पहिरोका घटना बढी भयो ।

मौसमविद्का अनुसार मुलुकमा सामान्यत असार पहिलो साताबाट मनसुन सक्रिय हुन्छ । यसपालि एक हप्ता अघि नै जेठ ३० गतेबाट मनसुन सक्रिय भएको थियो । प्रिमनसुनकै समयमा पर्यात पानी पर्दा अहिले नदीनालाको सतहमाथि आइसकेको छ । उपत्यकालगायत विभिन्न शहरमा थुप्रिएको फोहर नदीले बगाएर लगिसकेको छ । सानो पानी पर्दा नै ठूलो क्षतिको जोखिम छ ।

मनसुनका बेला बाढी र पहिरोका घटना बढी हुन्छ । प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल विपद् जोखिम न्यूनीकरण र उद्धारमा समस्या नहोस् भनेर यसपालि बेलैमा व्यवस्थापनको पाटोलाई चुस्त पारिएको बताउँछन् । उनका अनुसार कुन ठाउँमा उद्धार सामग्री कति छन्, कुन क्षेत्रमा कति डोजर, स्काभेटर र लोडर छ, राहत सामग्री र उद्धार सामग्री के के छ । कहाँकहाँ परिचालित गर्नुपर्छ भनेर सबै विवरण सङ्कलन गरी तयारीमा राखिएको छ । प्राधिकरणले विभिन्न निकायसँग मिलेर असरमा आधारित पूर्वसूचना प्रणाली अवलम्बन गरी दैनिक विपद् बुलेटिनसमेत प्रकाशित गरेर समुदायलाई सुसूचित पार्दै आएको छ ।

यस वर्ष ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोभिड–१९ को जोखिमका साथै विपद् पनि शुरु भएकाले तालमेल मिलाएर तयारी गर्नुपर्ने हुँदा आवश्यक व्यवस्थापनमा जुट्न गृहमन्त्री रामबहादुर थापाले मातहतका सबै निकायमा आवश्यक समन्वयका लागि निर्देशन दिइसकेका छन् ।

गृहमन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । विपद् जोखिम व्यवस्थापनविज्ञ डा कृष्ण देवकोटा कोभिड–१९ का कारण यसपटक विपद् व्यवस्थापनमा थप जोखिम र जटिलता रहेकाले त्यहीअनुसारको तयारी आवश्यक रहेको सुझाव दिन्छन् ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औषत पानी पर्ने अनुमान गरिसकेको छ । साउनमा थप बढ्नसक्ने अनुमान छ । विभागका अनुसार आगामी तीन दिन सबै प्रदेशमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोे छ ।

ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.