राष्ट्रिय बीमा कम्पनीकाे सीईओ नियुक्तीमा विवाद, पब्लिक डाइरेक्टरले दिए राजीनामा, व्यापार पनि घट्यो

  २०७७ असार १६ गते १६:४३     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका छन् । यसैबीच कम्पनीमा  सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने पब्लिक डाइरेक्टर पनि हटेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा डेढ वर्षदेखि अर्थमन्त्रालयका वरिष्ठ तथ्यांकशास्त्री डा. डिल्लीराज अर्याल छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीलाई पदबाट हटाइएपछि डा. अर्याललाई कम्पनीकै संचालक पदबाट राजीनामा गराएर ‘अर्काे व्यवस्था नभएसम्मको लागि’ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुअघिसम्म डा. अर्याल अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा कम्पनीको संचालक समिति सदस्य थिए ।

तत्काल प्रमुख कार्यकारी अधिकृत नभएर कम्पनीको व्यवस्थापकीय कार्यमा समस्या नपरोस भनेर अर्थमन्त्रालयका उपसचिव डा. अर्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, डा. अर्यालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेको डेढ वर्ष बितिसकेपनि कम्पनीले प्रमुख कार्यकारी अधिकृत ल्याउन सकेको छैन ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत रायमाझी हट्ने वित्तिकै तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत ल्याउने गृहकार्य थालिएको कम्पनीको संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले बताएका थिए ।

कम्पनीको व्यवस्थापकीय जिम्मेवारी वहन गरेर व्यवसायिक सफलता प्राप्त गर्न चुक्दै गएको दबाब परेपछि कम्पनीले गत ७ चैतमा नयाँ प्रमुख कार्यकारी अधिकृतको विज्ञापन प्रकाशित गरेको थियो । तर, कम्पनीले सार्वजनिक गरेको विज्ञापन नियामक निकाय बीमा समितिले तोकेको प्रमुख कार्यकारी अधिकृत हुनको लागि आवश्यक पर्ने योग्यतामा फेरबदल गरेर आएको भन्ने उजुरी परेपछि समितिले सो विज्ञापन नै रोकिदिएको छ ।

तर, कम्पनीका अध्यक्ष उपाध्याय भने समितिले विज्ञापन नरोकेको दाबी गर्छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको लकडाउनको अवस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत भर्ना गर्दा गलत सन्देश जाने भन्दै अर्थमन्त्रालय र बीमा समितिले सकारात्मक संकेत नदिएपछि नियामक निकाय र अर्थमन्त्रालयको आशय अनुसार नै विज्ञापन रोकिएको अध्यक्ष उपाध्यायको भनाइ छ ।

हटे पब्लिक डाइरेक्टर पनि

राष्ट्रिय बीमा कम्पनीमा सर्वसाधारणको करिब २० प्रतिशत सेयर छ । कम्पनीको ७ सदस्यीय संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना संचालक समिति सदस्य नियुक्त हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट अशोक कुमार उप्रेती संचालक सदस्य थिए । तर, संचालक समितिका गतिविधिप्रति आफूलाई चित्त नबुझेको भन्दै संचालक उप्रेतीले गत फागुनमा नै राजीनामा गरेका थिए । उप्रेतीले गरेको राजीनामा संचालक समितिले अघिल्लो साता मात्रै स्वीकृत गरेको छ ।

सेयरधनीले मानेनन् विजनेस दिन

राष्ट्रिय बीमा कम्पनीले गत माघमा एकै झट्कामा २८ करोड रुपैयाँभन्दा बढीको विजनेस गुमाएको छ । कम्पनीको संस्थापक सेयरधनी रहेको र संचालक समितिमा एक जना संचालक समेत रहदै आएको कर्मचारी संचयकोषले नै राष्ट्रिय बीमा कम्पनीलाई विजनेस दिन अविश्वास गरेको हो ।

कम्पनी र कोषबीच करिब डेढ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ्य बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौता अहिलेका प्रमुख कार्यकारी अधिकृत डा. अर्याल आउनुअघि नै तत्कालिन प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायामाझीको कार्यकालमा भएको थियो । सम्झौता अनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो ।

कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो ।

खुम्चदै व्यालेन्ससीट

पछिल्लो समय कम्पनीको व्यालेन्ससीट खुम्चदै गएको पाइएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको तुलनमा चालु आर्थिक वर्षको सोही अवधिमा व्यालेन्ससीटको आकार सानो देखाएको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा शुल्क (खुद) १७ करोड ४७ लाख ५९ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क (खुद) संकलन गरेको थियो ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दाबी भुक्तानी पनि कम गरेको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी (खुद) गरेकोमा चालु आवको सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको व्यवस्थापन खर्च भने बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड २० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको नाफा पनि घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ४१ लाख रुपैयाँ मात्रै नाफा गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.