बोइङ ७ सय ३७ म्याक्सको उडान परीक्षण शुरु

  २०७७ असार १६ गते १३:३७     विकासन्युज

सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७ सय ३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो ।

एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७ सय ३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ । संघीय प्रशासन र बोइङ कम्पनीबीच बिमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो ।

अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो । तर यी उडानको सफलतापछि पनि तत्कालै बिमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन । अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ ।

एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ । बोइङको ७ सात ३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन् ।

एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए । अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण बिमान दुर्घटना हुने गरेको अनुमान गरेका छन् । रासस–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.