मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित

  २०७७ असार १६ गते ८:४६     विकासन्युज

सर्लाही । सर्लाही जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् ।

सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा थप मारमा परेको लालबन्दी नगरपालिका–१७ का किसान रमेश अधिकारीले गुनासो गरे । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लागु गरिएको बन्दाबन्दीले सवारी साधन सञ्चालनमा नआउँदा कृषिजन्य उत्पादनको मूल्य लगातार ओरालो लागेपछि किसानहरु चिन्तित बनेका छन् ।

गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्री मूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका हुन् । बागमती नगरपालिका–८ शङ्करपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए । उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी बन्दाबन्दीका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मूल्य घटेको हो ।

मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरीले मकैबालीमा नोक्सान पुर्याएका कारण उत्पादन समेत घटेको लालबन्दी नगरपालिका–१३ का किसान रामवीर तामाङले गुनासो गरे । हावाहुरी र असिना पानीका साथै फौजी किराको सङ्क्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको भनाइ छ । चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष तीन क्विन्टल मात्र फलेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बताए ।

“सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्य नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको छ”, अर्का किसान जङ्गबहादुर महतोले भने । राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उनको भनाइ छ ।

जिल्लाका किसानले ‘हाइब्रिड’ जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । बाह्र हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६ सय मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको ज्ञान केन्द्रका निमित्त प्रमुख यादवले बताए ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.