कोरोनाले उपभोग्य वस्तुको अभाव, आपूर्ति सहज गर्ने प्रयासमा व्यवसायी र भन्सार प्रशासन

  २०७७ असार १५ गते ११:३५     राजाराम न्यौपाने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण विश्वव्यापी रुपमा आपूर्ति प्रणाली अबरुद्ध भएपछि नेपालमा उपभोग्य वस्तुको अभाव देखिन थालेको छ ।

कोरोना भाइरस संक्रमण रोक्नभन्दै नेपालमा वस्तु आयात हुने प्रमुख देशहरु भारत, चीनलगायतले लकडाउन गरेका कारण पनि आपूर्ति प्रणाली अवरुद्ध भएको हो । पछिल्लो समय बजारमा लत्ता कपडा लगायतका वस्तु अभाव देखिन थालेको व्यापारीले बताएका छन् ।

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण आपूर्ति प्रणालीमा समस्या आएर नेपाली बजारमा मोजा, पेन्टी, सेन्डो, टिसर्ट, रेनकोट, छाता, प्लाष्टिकका जुत्ता चप्पल जस्ता वस्तुको अभाव देखिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

‘चीनबाट आयात हुने धेरै वस्तु ५ महिनादेखि केरुङ नाकामा रोकिएका छन्, तातोपानी नाका पनि खुलेको छैन, त्यसैले तुलनात्मक रुपमा सस्तो पाइने चिनिया उपभोग्य वस्तुको अभाव देखिएको छ,’ अध्यक्ष कटुवालले भने ।

भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले आयात बढ्न थालेकोले बजारमा अभाव हुने सम्भावना कम रहेको बताए । विश्वव्यापी रुपमा कारोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन खुकुलो बन्दै गएको र आपूर्ति प्रणाली पनि सहज हुँदै गएकोले नेपाली बजारमा अभाव कम हुने उनको भनाइ छ ।

‘नेपालमा आयात हुने उपभोग्य वस्तुको आयात बढ्न थालेको छ, सामान्य अवस्थाको जसरी आयात स्वभाविक नभएपनि धेरै सुधार भएकोले बजारमा अभाव नै हुन्छ भन्ने अवस्था छैन,’ घिमिरेले भने ।

पछिल्लो समय व्यापारीले आयात बढाउन लागेको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका कोषाध्यक्ष नरेश अग्रवालले बताए । कोरोना भाइरसको त्रास कम हुँदै गएकोले पछिल्लो समय आयात बृद्धि हुन थालेको उनको भनाइ छ ।

‘लकडाउनको बीचमा पनि खाद्यान्न लगायत अतिआवश्यक वस्तुको आपूर्ति रोकिएको थिएन, अहिले अवस्था अझ सहज भएको छ, त्यसैले उपभोग बृद्धि हुँदै गरेको अवस्थामा पनि अभाब चर्केर जाला भन्ने अवस्था देखिदैन,’ अग्रवालले भने ।

केरुङका कन्टेनर रोकिदा अभाब बढ्यो

नेपाली व्यवसायीले चीनबाट आयात गरेका करिब १८ सय कन्टेनर रोकिदा पनि नेपाली बजारमा अभाव देखिएको हो । ती कन्टेनरमा लत्ता कपडा, जत्ता चप्पल, चिनियाँ सहयोगमा निर्माण भएका विकास आयोजनाका सामाग्री, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामान बोकेका ती कन्टेनर माघ १५ गतेदेखि केरुङमा रोकिएका हुन् ।

चीनबाट आएका ती सामान नेपाल भित्रिएपछि अभाव हट्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालले बताए । भन्सारमा रोकिएका सामान नेपाल भित्र्याउने गृहकार्य करिब पूरा भएकोले छिट्टै नै आइसक्ने भन्सार विभागका सुचना अधिकारी घिमिरेको भनाइ छ ।

घिमिरेका अनुसार समान छुटाउनको लागि चीन सरकारले नेपाललाई खबर पठाएको र नेपालको भन्सारका कर्मचारीहरु केरुङ भन्सार नाका पुगिसकेका छन् । अबको २/३ दिनभित्रमा ती सामान छुट्ने घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.