स्वास्थ्य सामग्री किन्न नर्वेमा रहेका नेपालीले गरे आर्थिक सहयोग

  २०७७ असार १५ गते ७:२२     विकासन्युज

डाेटी । नर्वेमा बसोबास गर्दै आएका नेपालीले जिल्लाका तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्लामा रहेका नागरिकलाई क्वारेन्टाइनदेखि अन्य स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा सहयोग पुर्याउन उनीहरुले २ लाख ३० हजार रूपैयाँ रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् ।

जिल्लाको केआइसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीयवासी तथा नेपाली काँग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जीतेन्द्र शाहीको पहलमा उक्त रकम सङ्कलन गरी जिल्लामा पठाइएको हो । ‘स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग’ अभियानमा नर्वेमा बसोबास गर्दै आएका नागरिकले स्वःस्फूर्तरूपमा प्रदान गरेको रकम डोटी जिल्लामा पठाइएको शाहीले बताए । उनले भने, “जिल्लामा स्वास्थ्य सामग्री किन्न समस्या भएको खबर हामीले पायौं, सबै साथीको सहयोगमा रकम सङ्कलन गरी पठाएका छौं, आशा छ हाम्रो सहयोगले केही सहज हुने छ ।”

नर्वेबाट प्राप्त उक्त सहयोगले जिल्लामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा समस्या भएका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । केआइसिंह गाउँपालिका, शिखर नगरपालिकाको वडा नं १ र २ तथा सायल गाउँपालिका–२ को क्वारेन्टिनमा बसेका व्यक्तिलाई स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

भारतबाट दैनिक हजारौंको सङ्ख्यामा नपाली स्वदेश फर्किन थालेपछि स्थानीय सरकारलाई स्वास्थ्यदेखि क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन भएको अवस्थामा प्राप्त सहयोगले निकै सहज भएको सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले बताए । नर्वेबाट आएको आर्थिक सहयोगले यहाँका क्वारेन्टानमा बसेका व्यक्तिलाई सर्जिकल मास्क, नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री खरिद गरी हस्तान्तरण गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.