लकडाउनमा बढ्यो मोबाइल र ल्यापटपको मूल्य

  २०७७ असार १४ गते १६:१३     नबिन पोखरेल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण नेपाली बजारमा ल्यापटप तथा मोवाइलको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै बजारमा ल्यापटपको अभावसमेत हुन थालेको छ ।

लकडाउनका कारण कार्यालयहरु संचालन हुन सकेनन् । सोही कारण घरबाट नै कार्यालयका कामहरु गर्नु पर्ने (वर्क फ्रम होम) को अवस्था आयो । यसरी घरबाट काम गर्दा स्टाफ, कर्मचारीहरुलाई ल्यापटपको आवश्यकता हुनु स्वभाविक जस्तै बन्न पुग्यो । तर लकडाउनका कारण विदेशबाट नेपालमा आयात गरिने ल्यापटप, मोवाइल लगायतका सामाग्रीहरु विगतका दिनमा जस्तो सहज रुपमा भित्रिएका छैनन् ।

विश्वभरी नै कोरोना महामारीको असर बढ्दो अवस्थामा रहदा प्रविधिको प्रयोग तथा आवश्यकता पनि बढ्दो छ । डिजिटल कारोबारहरु ग्राहकको प्राथमिकतामा पर्न थालेसँगै ल्यापटपको माग बढ्न थालेको जानकारहरु बताउँछन् ।

अनलाइन कक्षाहरु संचालन हुन थालेसँगै विद्यार्थीहरुलाई ल्यापटप समेत भरपर्दो माध्यम बन्दै गएको छ । विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी जुम कक्षादेखि आफ्ना प्रोजेक्ट वर्क गर्न ल्यापटपको सहयोग लिदै आएका छन् ।

के भन्छन् जानकारहरु ?

आईएमएस ग्रुपका अध्यक्ष तथा सामसुङ मोवाइल बेच्दै आएका दिपक मल्होत्राका अनुसार पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएका कारण मोबाइलको मूल्य बढेको हो ।

‘डलरको विनिमय दर बढेका कारण मोवाईलको मूल्य ५ प्रतिशतले बढेको छ, लकडाउनका कारण चोरी पैठारी नभएका कारण मोवाइलको व्यापार तथा मूल्य बढेको हो’, मल्होत्राले भने ।

भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार लकडाउनका कारण लामो समयदेखि मोवाइल किन्न नपाएका ग्राहकहरु बजारमा आएका र एकाएक आकर्षण देखिएको कारण मोवाईलको माग बढेको हो । मूल्य भने विश्वव्यापी रुपमै बढेको उनको भनाइ छ ।

‘अहिले मोवाइलको मूल्य नेपाली बजारमा मात्रै होइन विश्वव्यापी रुपमा नै बढेको छ, कोरोना महामारीका कारण लामो समयसम्म ग्राहकहरुले मोवाइल किन्न पाएनन्, अहिले लकडाउनको अवस्था केही सहज हुन थालेपछि ग्राहकहरुको माग बढ्यो र मोवाइलको मूल्य बढ्न पुग्यो’, भिभो मोवाइलका डिजिटल म्यानेजर गिरीले विकासन्यूजसँग भने ।

पुतलिसडकस्थित आईटी ग्लोबलमा ल्यापटप पसल संचालन गर्दै आएका प्रकाश कार्कीका अनुसार लकडाउनका कारण ल्यापटको माग बढेको र मूल्यमा पनि वृद्धि भएको हो ।

‘लकडाउनका कारण अन्र्तराष्ट्रिय उडानहरु बन्द हुन पुगे सोही कारण विदेशबाट ल्याइने सामानहरु स्वतः कम हँुदै गए, अन्य बेलामा पनि मोवाइल ल्यापटपको मूल्यमा हेरफेर हुने गर्छ, अहिले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा अमेरिकी डलरको भाउँको प्रभाव नेपाली बजारका ल्यापटपहरुमा देखिएको हो’, आईटी ग्लोबलका ल्यापटप बिक्रेता कार्कीले विकासन्यूजसँग भने ।

ल्यापटप लगायतका सामाग्रीहरु विदेशबाट भित्र्याउन विगतमा जस्तो सहज नभएको र समय पनि केही बढी लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुले ल्यापटप, मोवाइलको मूल्य ठ्याक्कै कतिले वृद्धि भयो भन्ने अंकमा नबताए पनि पछिल्लो समय आकर्षण भने राम्रै रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.