‘फेयर एण्ड लभ्ली’ ब्राण्डलाई नयाँ नाम दिँदै युनिलिभर नेपाल

  २०७७ असार १४ गते १६:०७     विकासन्युज

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (युएनएल)ले फेयर एण्ड लभ्ली ब्राण्डलाई नयाँ नाम दिने भएको छ । कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको ‘फेयर’ शब्द प्रयोग नगर्ने भएको छ ।

यससँगै उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने कम्पनीले जनाएको छ । यससँगै त्वचाको स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरणतर्फ विकास गर्न कम्पनी सक्षम भएको छ ।

‘फेयर एण्ड लभ्ली’ को नयाँ ब्राण्ड नाम आवश्यक कानूनी प्रक्रियाहरु पूरा भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

युनिलिभर दक्षिण एशियाका अध्यक्ष सञ्जिव मेहताले भने-‘‘फेयर एण्ड लभ्ली’ ब्राण्ड नामबाट ‘फेयर’ शब्दलाई हटाउने समेत घोषणा गर्दछौं । नयाँ नामले कानूनी मान्यता प्राप्त गर्ने प्रक्रियामा छ र परिवर्तित नामसहितको प्याक अबको केही महिनामै बजारमा उपलब्ध हुनेछ ।’

विगतका दशकमा फेयर एण्ड लभ्ली ब्राण्डले आफ्ना विज्ञापनहरुद्वारा महिला सशक्तिकरणको पक्षमा आवाज उठाउँदै आएको छ । सन् २०१९ को शुरुवातबाट नै ब्राण्डले आफ्नो सञ्चारलाई त्वचाको सुन्दरता, गोरोपना र चम्किलोपना लगायतका विषयको सट्ट ग्लो, सफा त्वचा लगायतका स्वस्थ त्वचाको उचित मापदण्डहरुतर्फ केन्द्रित गरेको छ ।

गोरोपनलाई सौन्दर्यसँग दाँज्ने गरी गरिएको दुई मुहारको तुलनात्मक रुपान्तरण लगायत गोरोपन सम्बन्धी निर्देशहरु रहेका फेयर एण्ड लभ्लीको प्याकेजिङ्गहरु तथा दृश्यावलीहरु समेत युएनएलले हटाउने निर्णय गरेको छ । त्वचाको चमक र व्यक्तिको उपलब्धि, तथा सम्भाव्यताबीच कुनै सम्बद्धता नहुने तथ्यलाई युएनएलले समर्थन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.