भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित

  २०७७ असार १४ गते १३:१७     विकासन्युज

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको सङ्ख्या बढ्ने क्रम जारी रहेको देखिएको छ ।

कतिपय देशहरुमा सङ्क्रमितको सङ्ख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ६ जना सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ३ हजार ५१ पुगेको छ ।

त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भई घर फर्केकाहरुको सङ्ख्या तीन लाख ९ हजार ७ सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण ४ सय १० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या १६ हजार ९५ पुगेको जनाइएको छ ।

कोरोना भाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म १ लाख ५९ हजार १ सय ३३ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १ सय ८८ जना सङ्क्रमित भएको जनाइएको छ ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.