लकडाउन खुकुलो भए पनि मजदुर ल्याउन नसक्दा खुलेनन् उद्योग

  २०७७ असार १४ गते १०:३०     राजाराम न्याैपाने

काठमाडौं । सरकारले उद्योगधन्दा सञ्चालन गर्ने भने पनि उद्योग सञ्चालनका लागि समस्या उस्तै रहेको उद्योगीहरु बताउछन् । गाउँ गएका मजदुर उद्योगसम्म आउन नै समस्या भएकोले उद्योगहरु संचालनमा समस्या भएको हो ।

साना सवारीका जोरबिजोर प्रणालीले पनि उद्योग सञ्चालनमा समस्या पारेको छ । बजारमा पनि उद्योगबाट उत्पादित वस्तुको माग त्यति धेरै नभएकोले पनि उद्योग संचालनमा उद्योगी हच्किएका हुन् ।

लकडाउनले अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पूर्णरुपमा बन्द भए पनि निजी क्षेत्र र सरकारबीचको छलफल पछि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय भएको थियो । तर सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका अधिकांश उद्योगहरु सञ्चालनमा पनि समस्या नै थियो । सरकारले पूर्णरुपमा उद्योग सञ्चालन गर्ने भने पनि विभिन्न समस्याको कारणले केही मात्र उद्योग सञ्चालन भएको छ ।

नेपाल उद्योग परिसघंका अध्यक्ष सतिश मोरले यति प्रतिशत उद्योग सञ्चालन भएको छ भनेर भन्न नसकिने बताए । कतिपय उद्योगहरु आंशिक रुपमा सञ्चालन भएको र कतिपय उद्योगहरु अझै पनि सञ्चालनमा नै आएको उनले बताए ।

‘उद्योग पुर्णरुपमा सञ्चालन हुन सकेका छैनन्, गाउँमा गएका मजदुरहरु आउन नसकेकाले पनि उद्योग सञ्चालनमा समस्या परेको छ, सार्वजनिक सवारी साधान चलेका छैनन्, चलेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागू भएको छ, यस्ता कारणले उद्योग सञ्चालनका लागि समस्या परिरहेको छ, बजारमा पनि उद्योगबाट उत्पादित वस्तुको त्यतिधेरै माग छैन,’ मोरले भने ।

नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा साखः स्टीलका डाइरेक्टर किरण साखःले स्टील उद्योगहरु पनि त्यति धेरै सञ्चालनमा नआएको बताए । सरकारले उद्योग सञ्चालन गर भनेर मात्रै नहुने भन्दै उनले मजदुर कसरी व्यवस्थापन गर्ने, उत्पादित वस्तु कहाँ लगेर बिक्री गर्ने भन्ने समस्या रहेको बताए ।

उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी व्यवसायी उत्साहित भए पनि शुरुका दिनमा कच्चा पदार्थ तथा श्रमिक व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको व्यवसायीको गुनासो रहेको साखःले बताए । बाहिरी जिल्लाका र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उद्योग सञ्चालनमा समस्या रहेको उद्योगीको भनाइ रहेको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले थोरै संख्याका सिमेन्ट उद्योग मात्रै संचालन भएको बताए । सरकारले चुनढुङ्गा खानी सञ्चालन गर्न दिए पनि स्थानीय तहको अवरोधको कारण खानी सञ्चालन गर्न नसक्दा सिमेन्ट उद्योग सञ्चालन नभएको थापा बताउँछन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि भनेर गत चैत ११ गते लकडाउन गरेको थियो । लकडाउनको केही समय अतिआवश्यक वस्तु उत्पादन गर्ने र वितरण गर्ने उद्योग तथा व्यापार मात्रै सञ्चालनमा रहेका थिए । तर लकडाउनको बीचमा सरकारले अर्थतन्त्र चलायमान गराउन ४४ प्रकारका उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसको केही समयपछि सबै किसिमका उद्योग सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो ।

सरकारले घोषणा गरको लकडाउन ९७औं दिनमा आइपुग्दा लकडाउन अन्त्यबारे सरकारले औपचारिक रुपमा कुनै जानकारी गराएको छैन । तर सरकारले असार १ गतेदेखि नयाँ मोडालिटी अनुसार लकडाउन खुकुलो बनाइसकेकाले आगामी दिनमा पनि लकडाउन यही मोडालिटीमा जारी रहने देखिन्छ ।

स्वास्थ्य विज्ञहरुले भने कोरोनाको संक्रमण आक्रमक रुपमा बढ्कोले थप सतर्क हुनुपर्ने बताइरहेका छन् । काठमाडौं बाहिर रहेकाहरु धमाधम काठमाडौं भित्रिन थालेपछि सरकारलाई थप समस्या परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.