चहलपहल बढ्यो, फूलको व्यापार भएन

  २०७७ असार १३ गते ८:२३     विकासन्युज

काठमाडाैं । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ हुने गरेका विवाह समारोह पनि भएका छैनन् । यस्ता कार्य रोकिएकाले फूलको व्यापार शून्य प्राय छ । अन्य बजारजस्तै फूलको पसल पनि खुलेको छ तर मानिस अत्यावश्यक सामग्री किने पनि फूल किन्ने एकाध भेटिन्छन् ।

कोरोना महामारीको शुरु हुनपूर्व दैनिक १ करोड २५ लाख रूपैयाँसम्मको कारोवार हुने गरेको यस व्यवसायमा अहिले मुस्किलले २० रूपैयाँ लाखसम्मको मात्र कारोवार भएको छ । फ्लोरीकल्चर एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार आगामी १४ गतेसम्म बिहेको लगन परेकाले नगन्य मात्राम फूलको व्यापार भएको हो । त्यसपछि फेरि अहिले भएको कारोवार पनि रोकिन्छ ।

अन्य व्यापार व्यवसाय पहिलेको अवस्थामा पर्कने क्रममा भए पनि यस व्यवसायलाई पुनः पहिलेकै अवस्थामा आउनका लागि होटल र पर्यटन व्यवसाय सञ्चालन हुनुपर्ने एशोसिएशनको भनाइ छ । कोरोना महामारी तत्कालका लागि नरोकिने र व्यवसायलाई पहिलेकै अवस्था ल्याउनका सहयोग गरिदिन भन्दै एशोसिएशनले सरकारसँग आग्रह पनि गर्दै आएको छ । पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर हुँदै गहेको अवस्थाम लकडाउनको कारण धेरैनै नोक्सान भएको छ । कतिले टिपेर बेच्ने बेला भएको फूल काटेर नष्ट गरेका थिए ।

हरेक वर्ष तिहार र प्रणय दिवसको समयमा सयपत्री र रातो गुलाब आयात गर्नुपरे पनि अन्य फूलमा भने स्वदेशी उत्पादनले नै धान्दै आएको छ । वर्षको तिहारमा मात्रै १५ करोड सयपत्री फूलको कारोवार हुने गरेको छ । श्रेष्ठले भने, “अहिले स्वदेशमा नै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले ७ प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

६० प्रतिशत माला खपत

खपत हुने फूलमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत हुने गर्दछ । स्वदेश र विदेशमा गरी वार्षिक २ अर्ब ४२ करोड रूपैयाँको फूलको कारोवार हुने गरेको छ । तिहार र अन्य मौसममा गरी ११ करोड बराबरको फूल वार्षिकरुपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्य गरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडवाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो ।

मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४१ हजार रूपैयाँभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, नुवाकोट मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । मुख्य गरी काठमाडौं उपत्यकामा मात्रै ३०० व्यवसायीले यस पुष्पखेती विस्तार गरिसकेका छन् ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.