क्लिंकर उत्खनन् गर्न नपाएको भन्दै सिमेन्टको मूल्य प्रतिबोरा १ सय ५० रुपैयाँसम्म बढाउने तयारीमा उद्योगी

  २०७७ असार ११ गते १७:२०     राजाराम न्यौपाने

काठमाडौं । सिमेन्टको मूल्य बढ्ने भएको छ । प्रतिस्पर्धाको कारण विगत २ वर्षदेखि घट्दै आएको सिमेन्टको मूल्य यसवर्ष सरकारले जारी गरेको लकडाउनका कारण क्लिंकरको अभाव भएकोले मूल्य बढ्ने भएको हो ।

सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुंगाको व्यवस्था समयमै गर्न नसकिएको कारण सिमेन्टको मूल्य बढ्ने उद्योगीले बताए । चुनढुंगाको ढुवानी फागुनदेखि जेठ महिनासम्मा हुने हुने र सोही समयमा सरकारले लकडाउन गरेका कारण समस्या भएको उद्योगीको भनाइ छ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ र चालु आर्थिक वर्ष २०७६/७७ मा सिमेन्टको भाउ लगातार घट्दै आएको थियो । २ वर्षमा गरेर प्रतिबोरा करिब १ सय ५० सय रुपैयाँले घटेको सिमेन्टको मूल्य फेरि बढ्न लागेको हो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रव थापाले सरकारले लकडाउनमा नै चुनढुंगा उत्खनन गर्न दिए पनि स्थानीय तहहरुसँग समन्वय नहुँदा उत्खनन् हुन नसकेको बताए । नेपालमा चुनढुंगा उत्खनन् हुन नसक्दा भारतबाट ल्याउनु पर्ने र त्यसैकारण सिमेन्टको मूल्य बढ्ने उनको भनाइ छ ।

‘संघीय सरकारले अनुमति दिएपनि स्थानीय तहहरुसँग समन्वय नहुँदा लकडाउनको समयमा चुनढुंगा उत्खनन् हुन सकेन, वर्षायाम लाग्नुअघि नै उद्योगसम्म पुर्याउनु पर्ने चुनढुंगा संकलन गर्न पाइएको छैन, भारतबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्दा महंगो पर्छ, त्यसैले अब उत्पादन हुने सिमेन्टको मूल्य बढ्छ,’ अध्यक्ष थापाले भने ।

वर्षायाम लागु भएको अब चुनढुंगा उत्खनन् गरेर उद्योगसम्म पुर्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटा उद्योगले आफैं क्लिङ्कर उत्पादन गर्छन् । तर, खानीबाट चुनढुंगा लगेर उद्योगमा स्टक राख्न नसक्दा अब भारतबाट क्लिङ्कर ल्याउनुपर्ने बाध्यता आइपर्ने भएकाले सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि १ सय ५० रुपैयाँसम्म महँगो हुने अध्यक्ष थापाको भनाइ छ ।

हाल नेपालमा सिमेन्टको उत्पादन मूल्य ओपीसी र पीपीसीबीच प्रतिबोरा करिब सय रुपैयाँको फरक छ । उद्योगबाटै खरिद गर्दा एक बोरा पीपीसी सिमेन्टको मूल्य ६ सय २५ रुपैयाँदेखि ६ सय ६० रुपैयाँसम्म पर्छ । ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य प्रतिबोरा ७ सयदेखि ७ सय ७० रुपैयाँसम्म रहेको थापाले बताए ।

सिमेन्ट खपत हुने तर समयमै भूक्तानी नपाउने कारणले पनि व्यवसायीहरु समस्यमा पर्ने गरेको उद्योगीहरु बताउछन् ।

नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ वटा छन् । ग्राइन्डिङ उद्योग ४० वटा छन् ।

उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता भएपनि ६१ वटा मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ ।

२०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरी ४ख र्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.