मासिक पाँच लाख कमाउने किसानको सुझाव- हाम्रै माटोमा केही गरौँ

  २०७७ असार १० गते १५:००     हरि बाँस्तोला

फाईल फाेटाे

पाेखरा । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर कैयौँ युवालाई रोजगारी पनि दिएका छन् ।

लामो समयदेखि बाँझो रहेको १६ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको व्यावसायिक पशुपालन र तरकारी खेतीमा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सो फर्मका किसानले जनाएका छन् । सो कृषि फर्मले विभिन्न शीर्षकमा नेपाल सरकारबाट रु १४ लाख २५ हजार अनुदानसमेत प्राप्त गरेको छ ।

उक्त फर्ममार्फत कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फर्मका तर्फबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक निर्माण गरी मौसमी एवं बेमौसमी तरकारी खेती गरिएको छ ।

गोठमा रहेका २४ वटा माहु भैँसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ । यसरी मासिक रु तीन लाख ७८ हजार बराबरको दूध बिक्री गर्ने गरेको उक्त कृषि समूह सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार त्यस फर्मले भैँसीपालनतर्फ कृषि विज्ञ केन्द्र पोखराबाट रु ६० हजार मूल्य बराबरको उन्नतजातको राँगो र पोखरा महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ । सरकारी स्तरबाट आवश्यक सहयोग प्राप्त हुने हो भने ५० वटा दुहुना भैँसी पु¥याउने फर्मको लक्ष्य रहेको उनको भनाइ छ ।

“फर्ममा उत्पादित दूध र तरकारी बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक बिहान–बेलुका फर्ममै आउँछन्”, उनले भने, “दूधमा गोठदेखि सबैतर्फ शुद्धतामा ध्यान दिइएका छौँ, फर्ममा उत्पादित भैँसीको दूधमा आठ प्रतिशत फ्याट (बाक्लो या चिल्लोपन) हुन्छ, हामीलाई लाग्छ हामीले निकै शुद्ध र ताजा दूध उपलब्ध गराइरहेका छौँ ।”

सर्लाही जिल्लाबाट रु एक लाख ४० हजारमा खरिद गरेर ल्याएको एउटा भैँसीले अहिले पनि दैनिक १५ लिटर दूध दिने गरेको छ । उन्नत जातका भैँसीका पाडी हुर्काउने अभियान नै सञ्चालन गरेको उनको भनाइ छ ।

छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याएको भैँसी दूध दिने अवस्थासम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा व्यक्तिलाई फाइदा भए पनि राज्यलाई आर्थिक रुपमा ठूलो नोक्सान हुने हुँदा पशुपालनसँगै पाडापाडी हुर्काउनेलाई सरकारी स्तरबाट उचित अनुदानको व्यवस्था गर्नुपर्नेमा पशुपालक कृषकको जोड रहेको छ ।

विसं २०७३ मा दर्ता गरी सञ्चालनमा आएको फर्मले यस पटक छवटा पाडा बिक्री गरेर ९० हजार आम्दानी गरेको छ । भारतमा गएर भैँसी खरिद गर्नुभन्दा गोठमै पाडी हुर्काउने लक्ष्य फर्मको छ । गोठमा अहिले विभिन्न उमेरका १६ वटा पाडापाडी हुर्कंदै गरेका छन् ।

दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ । उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उनको भनाइ छ ।

पशुपालनसँगै नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको अनुदानमा निर्माण गरिएको हाइटेक (हरितगृह) मा यतिखेर गोलभेँडा लटरम्म फलेका छन् ।

भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको कम्पोष्ट मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएको सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिए ।

एक रोपनी क्षेत्रफलमा रहेको जमीनमा पोखरा–२० भलामस्थित हमाल एग्रिकल्चर एन्ड भेजिटेबल नर्सरीबाट खरिद गरेर चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेँडा उत्पादन हुने गरेको छ, प्रतिकेजी रु ७० मा बिक्री गर्दै आएको उनको भनाइ छ ।

“यस मौसममा गोलभेँडा बिक्री गरेर न्यूनतम रु १० लाख आम्दानी गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “बारम्बार आउने हावाहुरीसहितको असिना पानीले टनेलको प्लाष्टिक उडाउँदा रोगको प्रकोप बढेसँगै उत्पादनमा समेत कमी आउने गरेको छ ।”

बेलायतमा पाँच वर्ष बसेर स्वदेश फर्कनुभएका उहाँले जन्मभूमिमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्थानीय १५ जनाको समूह बनाएर फर्म दर्ता गरी अरूलाई पनि पशुपालन र तरकारी खेती गर्न प्रेरित गर्दै आएका छन् ।

सो समूहले आफ्नाे निजी खर्च रु १८ लाखको लागतमा निर्माण गरेको टनेलभित्र लगाएको भक्तपुरे लोकल काँक्रोका ६०० बिरुवाले चैतदेखि उत्पादन दिन शुरु गरेको थियो । काँक्रो बिक्रीबाट यस मौसममा रु ९० हजार आम्दानी भएको सो फर्म सञ्चालक समितिका सदस्य हरिबहादुर कार्कीले बताए ।

“बजारमा शुरुमा प्रतिकेजी रु ८० र पछिल्लो समयमा रु ५५ मा काँक्रो बिक्री भयो”, उनले भने, “उत्पादित काँक्रो फर्मबाटै बिक्री हुने गरेको छ भने केही बाँकी आसपासका उपभोक्ता बस्तीमा पु¥याएर समेत बिक्री गर्ने गरेका छौँ ।” उनका अनुसार टनेलभित्र बेमौसमी तरकारी खेती गरिँदै आएको र काँक्रो हटाएपछि साग रोपिएको छ । अहिले सागले पनि आम्दानी दिन शुरु गरेको छ । विशेषतः टनेलमा गोलभेँडा, काँक्रो, सिमी, धनियाँ, सागबाट राम्रो आम्दानी हुने गरेको छ ।

फर्ममा हाल आठजनाले प्रत्यक्ष रोजगार पाएका छन् । उनीहरुको मासिक पारिश्रमिकमा मात्र रु एक लाख १० हजार खर्च हुने गरेको छ । उनीहरुका लागि खाना र बासको समेत फर्मले छुट्टै व्यवस्था गर्दै आएको छ ।

पशुपालन एवं तरकारी खेतीको लागि अत्यावश्यकरुपमा रहेको पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ खनेर पानीको व्यवस्था गर्दै आएको फर्मले सहुलियत ब्याजदरमा विभिन्न बैंकबाट रु ७५ लाख ऋण लिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्नका लागि घोषित बन्दाबन्दीका कारण फर्ममा भैँसीपालन र तरकारी खेतीमा प्रत्यक्ष प्रभाव परेको छ । गुणस्तरीय दाना र आवश्यक परालको अभावमा दिनप्रतिदिन भैँसी कमजोर बन्दै गएको र दूध उत्पादनसमेत घट्दै गएको छ । ढुवानी सेवा प्रभावित हुँदा विशेषगरी पशुपालनमा समस्या सिर्जना भएको हो । यतिखेर घाँसमा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.