राष्ट्र बैंकको व्यवहारप्रति धितोपत्र बोर्ड असन्तुष्ट, सेयर बजार खुल्ने टुंगो शुक्रबार

  २०७७ असार १० गते १३:३१     विकासन्युज

काठमाडौं । सेयर बजार कहिलेदेखि खुल्ने भन्ने टुंगो शुक्रबार लाग्ने भएको छ । लगानीकर्ताले उठाएका पुँजीगत लाभकर र इन्टरनेट बैंकिङबाट रकम भुक्तानी गर्ने सीमा बढाउन सरोकारबाला तयार भएपछि बजार खुलाउन दबाब परेको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर हो भनेर प्रष्ट पार्न अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम नै रहेको व्यहोराको पत्र बोर्डमा पठाएको छ ।

यस्तै, बोर्डले सेयर कारोबारमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा हटाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । बोर्डको सुझाव अनुसार राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङको सीमा पनि हटाइदिएको छ ।

तर, राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङ भुक्तानीको सम्बन्धमा गरेको व्यवस्थाप्रति बोर्ड अझै पनि सन्तुष्ट छैन । राष्ट्र बैंकले सेयर खरिद विक्रीको भुक्तानीका लागि मोबाइल बैंकिङबाट एक पटकमा लागि १ लाख रुपैयाँ र इन्टरनेट भुक्तानीको लागि एक पटकमा १० लाख रुपैयाँको सीमा कायमै राखेको छ । यद्यपि यसरी कारोबार गर्दा एक दिनमा जति रकम बराबरको पनि सेयर कारोबार गर्न पाउने राष्ट्र बैंकको भनाइ छ ।

मोबाइल बैंकिङमा एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङको माध्यमबाट एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक झन्झट मात्रै हुने बोर्डको भनाइ छ ।

नियामकीय दायरमा रहेको र प्रभावकारी नियमन भइरहेको सेयर बजारमा एक पटकमा एक लाख र १० लाख रुपैयाँको सीमा कायम गरेर अनावश्यक झन्झट मात्रै सिर्जना हुने बोर्डको भनाइ छ । पुँजीगत लाभकरको विषयमा भने धितोपत्र बोर्डले सन्तुष्टी जनाएको छ ।

बोर्डले उठाएका प्रमुख विषयको सम्बोधन भएपछि बोर्डलाई बजार खोल्न दबाब परेको छ । तर, बजार कहिलेदेखि कसरी खोल्ने भन्ने विषयमा बोर्डले अध्ययन समिति नै गठन गरेकोले सो समितिको प्रतिबेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘शुक्रबार अध्ययन समितिले प्रतिबेदन दिन्छ, समितिको प्रतिबेदन प्राप्त भएपछि बोर्डको संचालक समिति बैठक बसेर आवश्यक निर्णय गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.