सियाेल । दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौं–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ ।
जिनएयरको चार्टर्ड उडानका लागि सियाेलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ । उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन् । जिनएयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने देखिएको छ ।
यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौं–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले १ हजार २ सय ५० अमेरिकी डलर तिरेका थिए तर जिनएयरमा ७ सय ५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ भने कोरियाबाट नेपाल फर्किने यात्रुले ७ सय अमेरिकी डलर मात्र तिरे पुग्नेछ ।
जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १.३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ । साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ । जिनएयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको समेत बताइएको छ ।
कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका ४ हजार ५ सय युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका १ हजार ५ सयबढी यात्रु पनि नेपालमै अड्किएका छन् । रासस