पहिरो गएपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

  २०७७ असार ९ गते ८:१०     विकासन्युज

काठमाडाैं । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधनबीच बाटैमा अलपत्र परेका हुन् ।

तातोपानीको लिपी बजारदेखि २ सयमिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।

तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताए । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।

विपद्को जोखिममा तातोपानी क्षेत्र

तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ । चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ ।

बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्तीे दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ । भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् । बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताए ।

वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् । ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताए ।

गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन् । अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ ।

बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरुमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्ष अनुसार अगाडि बढ्ने बताए ।

विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.