सहमति खाेज्ने जिम्मेवारी शेखर गाेल्छाको काँधमा

  २०७७ असार ८ गते १३:३७     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीले मुलुक आक्रान्त छ । व्यवसायीहरु कर्मचारीलाई तलव खुवाउन नसकेर, बैंकको किस्ता भुक्तानी गर्न नसकेर, घरभाडा तिर्न नसकेर छटपटाईरहेका छन् ।

उद्योग व्यवसाय चौपट भएको पीडाले पोलिरहेको घाउँमा मलम पट्टि लगाउनुको साट्टो यतिबेला व्यवसायिक नेताहरुले भोट मागेर हैरान गर्नेवाला छन् । राहातको विषयमा सोच्ने र बोल्ने फूर्सद उनीहरुलाई छैन ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा होमिएको छ । साउन २५ र २६ गते निर्वाचन हुँदैछ ।

विधानत महासंघको निर्वाचन गर्न ढिला भैसकेको छ । गत चैत अन्तिममा साधारणसभा र निर्वाचन हुने निर्णय नै भएको थियो । कोरोना महामारीका कारण भएन ।
विधान अनुसार विषम परिस्थितिमा ३ महिना समय थप्न मिल्ने बैधानिक प्रावधान छ । त्यो प्रावधानअनुसार बढीमा असार मसान्तसम्म नयाँ नेतृत्व चयन भईसक्नुपर्ने थियो तर भएन ।

महासंघको विधानअनुसार यतिबेला महाधिवेशन हुनैपर्छ र नयाँ नेतृत्व चयन गर्नैपर्छ ।

महासंघका अधिकांश सदस्यहरु संकटको बेलामा चुनावी प्रतिस्पर्धा भन्दा सहमतिको प्रक्रियामा जानु पर्ने बताउँछन् । ‘निर्वाचन लोकतान्त्रिक पद्धति हो । निर्वाचनले बलियो नेतृत्व चयन गर्छ । तर यतिबेला सहमतिमा नयाँ नेतृत्व चयन गर्न सकियो भने सन्देश राम्रो जान्छ’ महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने ।

नयाँ नेतृत्वको लागि सहमतिको प्रयास गर्नु हुँदै गरेका शेखर गोल्छालाई भनिएको उनले बताए । ‘बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अबको अध्यक्ष हो । उहाँले चाहेमा सहमतिको वातावरण बन्न सक्छ’ उपाध्यक्ष श्रेष्ठले भने ।

हरेक निर्वाचनमा निकै सक्रिय रहदै आएको महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल चुनावको ३/४ दिन अघि मात्र सहमतिको सम्भावना हुने बताउँछन् । ‘भर्खरै निर्वाचनको मिति घोषणा भएको छ । अझै ढेड महिना बाँकी छ । यसबीचमा चुनावी तयारीसँगै सहमतिको प्रयास हुनेछन्’ उनले भने ।

विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गर्नुको उदेश्य नै क्रमशः महासंघको नेतृत्व सहमतिमा चयन गर्नु भएका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘महासंघमा गएर निजी क्षेत्रको हितमा काम गर्ने हो । व्यवसायीको समस्या समाधानमा सहयोगि भूमिका खेल्ने हो । महासंघको नेतृत्वमा गएर कुनै आर्थिक लाभ हुने होइन’ उनी भन्छन्–‘यस्तो ठाउँमा जान होडबाजी गर्नु वा महँगो निर्वाचन गर्नु ठिक होइन ।’

उनी महासंघमा सर्वसहमतिमा अध्यक्ष बनेका थिए ।

महासंघको पदाधिकारीमा कोही रहरले उम्मेदवार बनेको देखिन्छ भने कोही कहरले उम्मेदवार बनेका छन् । कोही विगतमा सोही पदमा हारेका व्यक्तिहरु पुनः उम्मेदवार बनेका छन् भने कोही पुरानै पदमा दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । अहिले विषम परिस्थिति भएकाेले  निश्चित मापदण्ड बनाएर सहमतिको प्रयास गरेमा शुरूमा पदाधिकारीमा सहमति हुने, त्यसपछि कार्यसमिति सदस्यहरुमा पनि सहमति जुट्न सक्ने जानकारहरु बताउँछन् ।


उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.