वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प

  २०७७ असार ७ गते १९:३२     विकासन्युज

काठमाडौं । कोभिड–१९ र सरकारले जारी राखेको बन्दाबन्दीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प बनेका छन् । वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले निर्माण ठप्प बनेको हो ।

गत चैतको पहिलो साता रोकिएका योजना तत्काल सञ्चालन गर्ने अवस्था नरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । सरकारले तत्काल अन्तरराष्ट्रिय उडान खुलाउने अवस्था नभएकाले आफ्नो देश फर्किएकाहरु नेपाल आउन नसक्ने महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

त्यसो त नेपालमा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उनीहरु आफैँ पनि निर्माणका लागि नेपाल नआउन सक्छन् । उनले भने, “सङ्क्रमण कम भएर अवस्था सामान्य नहुँदासम्म काम शुरु नहुन सक्छ ।” हाल नेपालमा वैदेशिक सहयोगमा कतिपय योजना निर्माणाधीन छन् भने कतिपय अध्ययनका क्रममा र कति अध्ययन सकिएर ठेक्का प्रक्रियामा जाने अवस्थामा छन् । सबै अवस्थामा रहेका योजनामा बन्दाबन्दीको प्रभाव परेको छ । नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौँ चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी घोषणा गरेसँगै देशभरका अधिकांश सडक योजनासहितका वैदेशिक सडक योजनाको पनि निर्माण रोकिएको थियो । सरकारले अन्तरराष्ट्रिय उडान बन्द गर्नु पहिले निर्माणस्थलमा रहेका विदेशी आआफ्नो देश फर्किएको प्रमुख थापाले बताए । उनले भने, “यहाँ भएका कम्पनीले पनि काम शुरु गर्न सकिरहेका छैनन् ।”

बन्दाबन्दीको कही सातापछि सरकारले कृषि, उद्योगसँगै विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेको थियो । सम्बन्धित जिल्ला प्रशासनसँगको समन्वयमा निर्माण शुरु गरिए पनि विरोधका कारण निरन्तरता दिन नसकिएको उनले बताए । बन्दाबन्दीसँगै निर्माण कम्पनीले स्थानीय कामदारलाई सम्बन्धित जिल्लामा पु¥याएको थियो । बन्दाबन्दीमै सरकारले निर्माण जारी राख्ने निर्णयसँगै उनीहरुलाई निर्माणस्थलमा फर्काइएको प्रमुख थापाले बताउनुभयो । कामदारको आरडिटी विधिबाट कोभिड–१९ परीक्षण भए पनि स्थानीय तहले निर्माण जारी राख्दा सङ्क्रमण फैलने भन्दै त्यसको विरोध गरेका थिए । उनले भने, “स्थानीय तह र स्थानीयवासीले हुँदैन भनेकाले काम शुरु गर्न सकिएको छैन ।”

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरेको चीन सरकारले दोस्रो खण्ड बिस्तारका लागि अध्ययन गरिसकेको छ । पहिलो खण्डमा संरचना हटाउँदै निर्माण अघि बढाउँदा समयभन्दा केही ढिलाई भएको थियो । दोस्रो खण्डमा भने सरकारले सडक निर्माणस्थल खाली गरेपछि मात्रै निर्माण शुरु गर्ने चिनियाँ पक्षसँग सहमति भएको थियो । सरकारले निर्माणस्थल खाली गरेर चिनियाँ पक्षलाई हस्तान्तरण गर्नुभन्दा पहिले नै कोभिड–१९ को त्रासका कारण उनीहरु चीन फर्किएका थिए । आगामी आवमा सो सडकमा चिनियाँ पक्षले काम शुरु गर्ने उनको भनाइ छ । उनले भने, “सामान्य अवस्था भएपछि उनीहरु आएर काम शुरु गर्नेछन् ।”

जापान सरकारको सहयोगमा निर्माण शुरु भएका र अध्ययन भइरहेका योजना पनि अघि बढेका छैनन् । काठमाडौँ उपत्यकाको सबैभन्दा बढी जाम हुने जडिबुटीमा फ्लाई ओभर वा सुरुङमार्ग निर्माणका लागि जापान सहयोग नियोग (जाइका) ले अध्ययन गरिरहेको थियो । त्यस्तै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकासँग सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागिसमेत सरकारसँग छलफल भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ भित्रने मुख्य नाका नागढुङ्गाको सडक चापको समस्या समाधानको उपायका रुपमा अघि बढाइएको नागढुङ्गा सुरुङमार्ग निर्माण पनि अहिले ठप्प छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग निर्माण शुरु भएको केही महिनामा नै रोकिएको छ । अहिले पनि थोरै व्यक्ति त्यहाँ कार्यरत रहेका प्रमुख थापाले बताए ।

विश्व बैंकको सहयोगमा नौबिसे–नागढुङ्गा सडक विस्तारका लागि अध्ययन भइसकेको छ । उनले भने, “यो सडकमा आगामी आवमा ठेक्का सम्झौता भएर काम अघि बढाइनेछ ।” सरकारले निर्माण गरिरहेका सडकमा समेत बन्दाबन्दीको प्रभाव परेको छ । सङ्घीय सरकारले निर्माण गरिरहेका अधिकांश सडक र पुल निर्माण अपेक्षानुसार अघि नबढेको सडक विभागले जनाएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तर–दक्षिण करिडोरलगायतका राष्ट्रिय गौरवका आयोजनामा निर्माण जारी राख्ने सरकारले निर्णय गरे पनि थोरै स्थानमा मात्रै निर्माण शुरु गरिएको आयोजना निर्देशनालयले जनाएका छन् ।

सरकारको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले गत फागुनसम्ममा ५५९ किमी सडक कालोपत्र, ६५७ किमी ग्राभेल र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । चालू आवको गत फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.