२ अर्ब रुपैयाँ फिर्तासँगै इन्भेष्टमेन्ट बैंकको नाफा र सेयर मूल्यमा कस्तो असर पर्ला ?

  २०७७ असार ४ गते २२:१३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको करिब २ अर्ब रुपैयाँ प्राप्त गरेको छ । तनहुँ हाइड्रोपावरको निर्माण ठेक्का पाएको इटालियन कम्पनीले इटालीको अदालतमा मुद्दा हालेपछि र सो मुद्दामा बैंकले एक पटक हार खाएपछि बैंकको २ अर्ब रुपैयाँ डुब्ने आशंका बढेको थियो ।

आंशकाकै बीच बैंकको सेयरमा लगानी गर्नेहरु डराएका थिए । डरको प्रतिबिम्ब सेयर बजारमा परेको थियो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको थियो ।

नविल बैंककाे सेयर मूल्य  ६६०, एभरेष्ट बैंककाे ५७७, स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ५५६, एनआईसी एशियाकाे ४६८, हिमालयन बैंककाे ४११, एसविआई बैंककाे ४०४, एनएमबी बैंकको ३५६ रुपैयाँ छ । यी बैंकहरुको सेयर मूल्य भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तल झर्नुको मुख्य कारण बैंक ग्यारेन्टीमा भोग्नुपरेको विवाद नै थियो ।

नविल बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ छ । एभरेष्ट बैंकको ३७ रुपैयाँ छ । एनआईसी एशिया बैंकको ३७ रुपैयाँ छ । हिमालयन बैंकको पौने २५ रुपैयाँ छ । यी बैंकको प्रति सेयर आम्दानी इन्भेष्टमेन्टको भन्दा बढी हुनु र उनीहरुको सेयर मूल्य पनि माथि नै हुनुलाई तार्किक मान्न सकिन्छ ।

तर स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे २२ रुपैयाँ, नेपाल एसविआई बैंकको साढे २१ रुपैयाँ र एनएमबी बैंकको पौने १५ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी साढे २३ रूपैयाँ छ । प्रतिसेयर आम्दानी कम भएका अन्य बैंकहरुको भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य कम हुनु भनेको उक्त विवादमा बैंक जोखिममा देखेर नै लगानीकर्ता हच्किएको हुन सक्छन् ।

तर खुशीको कुरा इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको गत जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट भएको थियो । त्यस आदेशको एक सातामै इन्भेष्टमेन्ट बैंकको खातामा पैसा जम्मा भएको छ ।

नाफा र सेयर मूल्यमा पर्ने असर

केही मानिसहरुले के अनुमान गरेका छन् भने इटालीयन ठेकदारका लागि दिएको बैंक ग्यारेन्टीमा फसेको २ अर्ब रुपैयाँ प्रोभिजन गरिएको थियो । त्यो प्रोभिजनल रकम फिर्ता हुँदा असारमा बैंकको नाफा निकै बढ्न सक्छ ।

तर वास्तवमा त्यस्तो भने होइन । बैंकका प्रमुख सञ्चालन अधिकृत विजेन्द्र सुवालको अनुसार अदालतमा मुद्दा परेकोले उक्त बैंक ग्यारेन्टी रकममा बैंकले जोखिम प्रोभिजन गरेको थिएन । ‘असारसम्म हामीलाई समय थियो । आगामी असारसम्ममा पनि उक्त पैसा नआएको भए प्रोभिजनमा जानु पर्ने अवस्था आउँथ्यो । अब प्रोभिजन गर्नुपरेन’ उनले भने- ‘हामीले ठेकदारलाई दिने भुक्तानी दिईसकेको छौं । उताबाट आउनुपर्ने पैसा पनि आयो । अब हिसाब बराबर भयो । इटालीबाट प्राप्त २ अर्ब रुपैयाँ नाफामा जादैन ।’

तर बैंक एउटा जोखिमबाट बाहिर निस्केको छ । साथै नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि एउटा सकारात्मक नजिर बसेको छ । जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, त्यसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

लाभांश गत वर्षकै हाराहारीमा ?

चैत मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा २ अर्ब ५८ करोड रुपैयाँ छ । १४ अर्ब २४ करोड चुक्ता पुँजी र कुल पुँजी २७ अर्ब ३३ करोड रुपैयाँ भएको बैंकले ९ महिनामा साढे २ अर्ब नाफा गर्नु उल्लेखनीय होइन । यहि अनुपातमा असारसम्म उसको नाफा रह्यो भने बैंकले सेयरधनीलाई बढीमा गत वर्षको हाराहारीमा लाभांश दिने सामर्थ्य राख्नेछ । गत वर्ष बैंकले १९ प्रतिशत लाभांश दिएको थियो ।

बैंकको व्यवसायिक ग्रोथ पनि राम्रो छ । चैत मसान्तसम्ममा १३८ अर्ब कर्जा सापटी दिएको छ भने सवा १९ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ । एक वर्षमा बैंकले कर्जा सापटीमा १६ अर्ब वृद्धि गरेको छ । निक्षेपमा सामान्य वृद्धि भई १५६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । तसर्थ बजार खुलेपछि इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य स्क्रीनमा हरियो अक्षरमा देख्न सकिने लगानीकर्ताहरुको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.