वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपियाे, निक्षेपकाे व्याज ३ प्रतिशतले घट्याे

  २०७७ असार ४ गते १८:५४     विकासन्युज

काठमाडौं । बैंकहरूकाे कर्जा र निक्षेपबीच असन्तुलन बढेकाे छ । विगत दुइ महिनामा निक्षेप ८७ अर्बले बृद्धि भएकाे छ भने कर्जा रकम २९ अर्ब रूपैयाँले घटेकाे छ । कर्जा चुक्ता र निक्षेप संकलन गरी २ महिनामा २७ वटा वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपिएकाे छ ।

नेपाल बैंकर्स संघका अनुसार जेठ ३० सम्ममा  वाणिज्य बैंकहरुमा कुल निक्षेप ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन चैत महिनाको भन्दा ८७ अर्ब रुपैयाँले बढी हो । चैत मसान्तमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकाे थियो । बैशाख महिनामा मात्र ३२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

काेराेना महामारीसँगै मानिसहरूकाे खर्च कटाैति भएकाे, निक्षेपकाे व्याज जाेडिएर पनि कुल निक्षेप अंक बढेकाे, रेमिट्यान्स प्रवाह राम्राे रहेकाेले निक्षेप वृद्धि भएकाे सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द गुरूङले बताए ।

यस्तै, जेठ महिनामा पनि वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जा घटेको छ । जेठ महिनासम्म वाणिज्य बैंकहरुको कुल ऋण २८ खर्ब १६ अर्ब रुपैयाँमा सीमित भएको छ । याे रकम चैत मसान्तका तुलनामा २९ अर्ब रुपैयाँ कम हो । कर्जा चुक्ता गर्न क्षमता भएका ग्राहक कर्जा चुक्ता गर्नेतिर लागेकाे र नयाँ कर्जाकाे माग शुन्य जस्तै भएकाेले कुल कर्जामा गिरावट देखिएकाे गुरूङले बताए ।

एकातिर निक्षेप बढ्ने र अर्कोतिर ऋण घट्ने हुँदा बैंकमा पैसा थुप्रिन थालेकाे छ । अहिले बैंकहरुको सीसीडी रेसियो करिब ७४ प्रशितमा झरेको छ । केही महिनाअघि बैंकहरुको सीसीडी रेसियो ७९ प्रतिशतसम्म पुगेको थियो । नेपाल राष्ट्र बैैंकको प्रावधान अनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम हुनुपर्छ ।

निक्षेपको व्याजदर घटाउँदै

बैंकमा निक्षेप बढ्ने, नयाँ कर्जाकाे माग नहुने र पुराना कर्जा पनि चुक्ता गर्ने क्रम वृद्धिसँग बैकहरुले निक्षेपको व्याजदर पनि घटाउँदै गएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनौपचारिक रुपमा निक्षेपको व्याजदर नघटाउन निर्देशन दिदै आएपनि बैंकहरुले भने त्यसको व्याजदर कम गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकले उद्योगी व्यवासायीहरुका लागि कर्जामा २ प्रतिशतसम्म व्याजदर घटाउन निर्देशन दिएसँगै पछि बैंकहरूले व्याज खर्च कटाैतिका लागि निक्षेपमा पनि व्याज घटाउन थालेका हुन् । तरलता वृद्धिले पनि निक्षेपकाे व्याज घाउने बैंकर्सकाे प्रयासमा उर्जा थपेकाे छ ।

बैंकहरुले साधारणा बचतमा ३ प्रतिशतसम्म व्याजदर घटाएका छन् भने मुद्दतिमा २ प्रतिशतले घटाएका छन् । फागुनसम्म बैंकहरूले मुद्दतिमा १० प्रतिशत र बचतमा ८ प्रतिशतसम्म व्याज दिदै आएका थिए । अहिले बैंकहरूले बचत खाताकाे व्याजदर ३ देखि ५ प्रतिशत मात्र ताेकेका छन् भने मुद्दतिकाे व्याज ७ देखि ८.२५ प्रतिशतसम्म ताेकेका छन् ।

अहिले संस्थागत निक्षेपको अधिकतम ब्याज ७ प्रतिशत छ भने ब्यक्तिगतको ८.२५ प्रतिशत  र बचतको साढे ५ प्रतिशत ताेकेका छन् । विहीबार मात्र एनआइसी एसिया बैंकले बचतको ब्याज दर ०.५ प्रतिशत बिन्दुले घटाएको छ । एनआइसी एसिया बैंकले बचतमा अधिकतम ५.५ र न्यूनतम ३.५ प्रतिशत ब्याज दिँदै आएको थियो ।

यस्तै एक साता अगाडि मात्रै नबिल, एभरेष्ट, बैंक अफ काडमाण्डू, नेपाल एसबीआई बैंक लगायतले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । ती बैंकहरुको बैंकको मुद्दति खातामा भने व्यक्तिगत तर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज रहेको छ ।

नबिल बैंकले बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले सबैभन्दा बढी ५.५० र सबैभन्दा कम ०.२५ प्रतिशत ब्याज दिने जनाएको छ । यता एसबीआई बैंकले सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

बचतको व्याज घटेपछि कलको व्याज पनि अब अटोमेटिक कम हुनेछ । राष्ट्र बैंककाे नियम अनुसार बचतको न्यूनतम ब्याजभन्दा बढी कल डिपोजिटमा व्याज दिन पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.