लालबन्दी–मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति

  २०७७ असार १ गते ९:१३     विकासन्युज

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमति भएको हो ।

नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिए ।

सडकको डिपिआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । “दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो । तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ”, नगरपालिकाका प्रमुख खड्काले भने ।

दुवै स्थानीय निकायले आ–आफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७÷७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ । “यो सडक निर्माणमा स्थानीय तहहरुले मात्रै सकिँदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौँ । डिपिआरदेखि सडक निर्माणसम्मका लागि बजेट नपुगेको खण्डमा सङ्घ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ ।” सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानीय तहले समन्वय गर्ने सहमति भएको दुवै स्थानीय निकायका प्रमुखले बताए ।

करिब ३५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणपछि तराईसँग मरिण गाउँपालिकाको आवातजावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माणपछि थप व्यस्त रहने हुँदा सोहीअनुसार व्यवस्थित बनाउने नगरले तयारीसमेत गरेको नगर उपप्रमुख लामाले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.