गाउँलेको दुःखमा सघाउँदै प्रवासी

  २०७७ जेठ ३१ गते १५:३७     विकासन्युज

गलकाेट । तीन साताअघि भएको आगलागीले गलकोट नगरपालिका–७ मल्मका जुक्तबहादुर खड्काको घरबास गुम्यो । खाद्यान्न, लत्ताकपडासहित सरसमान सबै जले । लाखौँको भौतिक क्षति भयो । त्यसको केही दिनपछि सोही वडाका लक्ष्मण सुनारको साउदी अरबमा निधन भयो । हृदयाघातका कारण मृत्यु भएका सुनारको परिवारलाई बच्न पर्यो । श्रीमती, बालबच्चा बिचल्लीमा परे ।

गत फागुनमा रोजगारीका लागि साउदी अरब पुगेका सुनारको शव उतै रोकिएको छ । परिवारका सदस्यलाई अन्तिमपटक मुख हेर्ने धोको छ । बन्दाबन्दीले शव ल्याउन कठिन छ । प्रक्रिया झण्झटिलो र खर्चिलो छ । यसरी गाउँका दुई छिमेकी परिवारलाई परेको विपद्ले जापानमा रहेका गलकोटेको मन कुँडियो । दुःख, अप्ठेरोमा सघाउन बानी परेका उनीहरुले खड्का र सुनार परिवारका लागि सहयोग अभियान चलाए ।

एक सातामै झण्डै १५ लाख जुट्यो । अग्निपीडित खड्का परिवारका लागि ८ लाख १९ हजार २ सय ४४ सङ्कलन भएको अभियानकर्मी दुर्गा थापाले बताए । उनीसहित दिल थापा ‘रामु’ प्रकाश केसी, कृष्ण केसी, दिनेश थापा, तुलवीर थापालगायत अभियानमा जुटेका थिए । “जापानमा रहनुभएका १ सय ४७ भन्दा बढी गलकोटेहरु यो अभियानमा जोडिनुभएको छ”, उनले भने, “हामी सबैको प्रयासले यो सम्भव भएको हो ।” अभियान थालेको एक साताभित्रै उक्त रकम सङ्कलन भएको उनको भनाइ छ ।

सोही अवधिमा सुनार परिवारको राहतका लागि रु छ लाख १७ हजार ६ सय २० सङ्कलन भएको जापानबाट दिनेश थापाले जानकारी दिए । उनका अनुसार दुवै घटनापछि सङ्कलित सहयोग रकम वडा कार्यालयमा पठाइसकिएको छ । “वडामार्फत राहत प्रदान गर्ने गरी रकम पठाइसकेका छौँ”, दिनेशले भने, “उक्त रकम पीडित परिवारको हितमा सही ढङ्गले सदुपयोग होस् ।”

वडाध्यक्ष टीकाबहादुर थापाले जापानबाट राहत रकम वडाको खातामा आइसकेको बताए । अग्निपीडित खड्का परिवारको घर निर्माणमा उक्त रकम सहयोग गरिने उनको भनाइ छ । “पीडित परिवारको पनि राय लिएर उपयुक्त काममा सहयोग गर्छौं”, वडाध्यक्ष थापाले भने । सुनार परिवारमा पनि बालबच्चाको पढाइ र उनीहरुको सुरक्षित भविष्यका लागि राहत रकम प्रदान गर्ने वडाको सोच छ । कमाउन विदेश पुगेका लक्ष्मणको अल्पायुमा निधन भएपछि परिवारमा सङ्कट आइलागेको छ ।

अग्निपीडित खड्का परिवारको व्यथा पनि सानो छैन । न्यून आय भएको परिवार भएका कारण सबैको सहयोगको खाँचो छ । यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले उक्त परिवारलाई राहत प्रदान गरेका थिए । महिला जागरण केन्द्र मल्म, रेडक्रस बागलुङ, लायन्स क्लब अफ धवलागिरिलगायतका सङ्घसंस्थाले राहत रकम र खाद्यान्न सामग्री दिएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि १० हजार उपलब्ध गराएको थियो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.