शिक्षक सक्रिय भए वैकल्पिक सिकाइ प्रभावकारी हुने

  २०७७ जेठ ३० गते २०:२५     विकासन्युज

काठमाडौं । शिक्षक सक्रिय भएका विद्यालय खुल्न नसकेको अवस्थामा पनि अनलाइन र दूरशिक्षाका माध्यमबाट प्रभावकारीरुपमा सिकाइ निरन्तरता हुने औँल्याइएको छ ।

लू निभाः बाल सरोकार समूहको आयोजनामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि शिक्षक परामर्श’ विषयक आज आयोजित अनलाइन छलफलमा विज्ञ तथा शिक्षाकर्मीले कोभिड–१९ को विषमस्थितिमा शिक्षकको भूमिका महत्वपूर्ण बताएका हुन् ।

छलफलमा शिक्षाविद् डा विद्यानाथ कोइरालाले महामारीले चुनौती र अवसर सिर्जजा गरेको जनाउँदै शिक्षकले सरकार वा माथिको आदेश पर्खनुभन्दा स्थानीय सूचना प्रविधि र स्रोत सामग्रीको उपयोग गरी वैकल्पिक शिक्षण गर्नसक्ने बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी दिव्या दवाडीले सरकारले हालै ल्याएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ ले सूचना प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीको समूह वर्गीकरण गरी उनीहरुको अनुकूलताअनुसार सिकाइ निरन्तरता दिन शिक्षकले काम गर्नुपर्ने बताए ।

संवादमा ललितपुरको महानगरपालिका र गोदावरी नगरपालिका, डडेल्धुराको अजगमेरु र गनन्याधुरा गाउँपालिका तथा दक्षिण ललितपुरका महाँकाल र वाग्मती गाउँपालिकाका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता थियो ।

लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले वैकल्पिक सिकाइको निरन्तरताका लागि सहजीकरण गरिएको जनाए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.