१ घण्टा अनलाइन कक्षा लिन २ घण्टा पैदल !

  २०७७ जेठ २९ गते ११:०९     सन्तोष रोकाया

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह अन्तर्गत मास्टर अफ विजनेस म्यानेजमेन्टको प्रथम सेमेस्टरमा अध्ययनरत दार्चुलाका राजेन्द्र विष्टको दैनिकी आजभोलि निकै फेरिएको छ ।

राजेन्द्रले २०७६ साल फागुनमा त्रिविमा स्नातकोत्तरमा भर्ना गरे । त्यो समयमा उनको समय ४ घण्टा क्याम्पस र अन्य समय कोठामै अध्ययन गरेर बित्थ्यो ।

उनी लगभग दई हप्ता निरन्तर क्याम्पस पनि गए । तर, त्यसको बीचमै अर्थात चैत ११ गतेदेखि भएको देशव्यापी लकडाउनले भने उनको दैनिकी परिवर्तन भएको हो ।

हाल उनी आफ्नै गाउँ दार्चुलाको मार्मा गाउँपालिकामा छन् । काठमाडौंबाट दुर्गम र अन्य सेवा सुविधाहरुबाट पनि टाढा रहेको मार्मा गाउँपालिकामा इन्टरनेट त के राम्रोसँग फोनले समेत काम गर्दैन । त्यही बीचमा त्रिभुवन विश्व विद्यालयबाट उनलाई एउटा मेसेज आयो, ‘हामीले अनलाइन कक्षा सुरु गरेका छौं, अनलाइन कक्षामा सहभागी हुनु होला ।’

अब उनलाई फसाद पर्यो, राम्रोसँग फोन नलाग्ने ठाउँबाट कसरी अनलाइन कक्षामा सहभागी बन्ने । इन्टरनेटको पहुँच नभएको मार्मामा रहेका उनलाई पढ्ने इच्छा भने निकै थियो । उता क्याम्पसले निरन्तर पढाई सञ्चालन गरिरहेको छ । उनलाई आफ्नो पढाई छुट्ने चिन्ता पनि बढ्दै गयो ।

उनले साथीहरुलाई सम्पर्क गरे । उनका साथीहरु पनि आ–आफ्नो घर गइसकेका थिए । उनीहरुले उनलाई एउटा उपाय सुनाए । आफ्नो गाउँ नजिकैको वडा कार्यालयमा गएर अनलाइन कक्षा लिने । उनका साथीहरु पनि त्यस्तै गर्थे ।

उनले पनि अब नजिकैको वडा कार्यालयमै गएर अनलाइन कक्षा लिने योजना बनाए । विकट गाउँमा सहरको जस्तो नजिकै वडा कार्यालय कहाँ हुन्छ र ? उनले अनलाइन कक्षा लिन अब २ घण्टाको बाटो हिँडेर वडा कार्यालयसम्म पुग्नु पर्ने भयो ।

हाल उनी दैनिक वडा कार्यालयमै गएर अनलाइन कक्षा लिइरहेको बताउँछन् । उनी भन्छन्, ‘वडाध्यक्ष पनि चिनेकै दाइ हुनुहुन्छ, उहासँग कुरा गरेर दैनिक वडा कार्यालय गएर नै अनलाइन कक्षा लिने गरेको छु ।’

उनी अहिले दैनिक २ घण्टा पैदल हिडेर वडा कार्यालय पुग्ने गरेको बताउँछन् । ‘अनलाइन कक्षाका लागि दैनिक वडा कार्यालय पुगेपनि इन्टरनेट राम्रोसँग काम गर्दैन, घरि–घरि इन्टरनेट जान्छ, सरले भनेको पनि राम्रो सँग बुझिदैँन, कहिले काहीं एक शब्द नबुझेर घर फर्किन्छु,’ उनले भने ।

अनलाइन कक्षा पढ्न चाहनेका लागि त्रिभुवन विश्व विद्यालयले डाटा उपलब्ध गराएको बताउँदै त्यो डाटाले आफ्नो ठाउँमा काम नगर्ने उनको भनाई छ । घरि बत्ति जान्छ, घरि इन्टरनेट चल्दैन, कहिले काहिँ त सरहरुले जुममा पठाएको रिक्वेष्ट पनि एसेप्ट गर्दैनन्, एसेप्ट नभएपछि त्यतिकै घर फर्किनु परेको गुनासो पनि उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी सुदूरपश्चिमको रहेको बताउँदै उनले सबै विद्यार्थी घर गएकोले सबैले आफ्नै जस्तो समस्या र धेरैले त अनलाइन कक्षा नै लिन नपाएको उनले बताए ।

यो समस्या राजेन्द्र विष्टको मात्र होइन । त्यो भन्दा ठूलो समस्यामा अहिले धेरै विद्यार्थीहरु छन् । उनीहरुलाई एकातर्फ कोरोना भाइरसको त्रास छ भने अर्कोतर्फ उता सरले अनलाइन मार्फत नै कोर्ष अगाडि बढाइरहेका छन् ।

उनीहरुलाई आफू पढाइबाट बञ्चित भएकोप्रति धेरै चिन्ता छ । काठमाडौंको बालाजुमा अनमी पढ्दै गरेकी बझाङकी गंगा धामीलाई पनि अहिले पढाइको तनाव छ । दुर्गम बझाङको पनि विकट साइपाल गाउँपालिकाकी गंगा पनि अहिले घरमै छिन् । केही दिनअघि उनले कलेजले अनलाइन कक्षा सुरु गर्ने भन्ने सुचना सुनेपछि अनलाइन कक्षा लिन दुई दिन पैदल हिडेर सदरमुकाम चैनपुर पुगिन् ।

फोन पनि नलाग्ने साइपालमा उनले अनलाइन कक्षाको कल्पना नै नगरी घरबाट अनलाइन कक्षा लिन सदरमुकाम जान्छु भनेर घरबाट हिडिन् । उनी दुई दिन हिडेर चैनपुर पनि पुगिन् ।

एक दिन कलेजले अनलाइन कक्षा सुरु पनि गर्यो । तर, विद्यार्थीको संख्या न्युन भएको भन्दै उनको कलेजले अब अनलाइन कक्षा नलिने भनेर निर्णय गर्यो । दुई दिन हिडेर सदरमुकाम पुगेकी गंगा अनलाइन कक्षामा ५ मिनेट कुरा सुनेर फेरि घर नै जान वाध्य भइन् । अहिले उनी सदरमुकामबाट साइपाल गाउँपालिकामै फर्किसकेकी छिन् ।

यस्तै, ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका डम्बर लिम्बुको गुनासो पनि राजेन्द्र र गंगाको भन्दा फरक छैन । राजेन्द्र वडा कार्यालयमै गएर अनलाइन कक्षा लिइरहेका छन्, गंगाले एक घण्टाको अनलाइन कक्षा लिन सदरमुकाम गएर पनि फेरि नहुने भएपछि घरमै फर्किसकेकी छन् भने डम्बरले त्यतिसम्म पनि गर्न पाएका छैनन् ।

उनको गाउँमा पनि न इन्टरनेटको पहुँच छ, नत राम्रो टेलिफोनको सुविधा नै । उनी त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको अनलाइन कक्षालाई अस्वीकार गर्छन् ।

डम्बर भन्छन्, ‘अनलाइन कक्षा शहरकेन्द्रित विद्यार्थीलाई मात्र भयो, ७० प्रतिशत विद्यार्थी अनालाइन कक्षाको पहुँचबाट बाहिर छन्, यो कसरी स्वीकार्य हुन सक्छ ?’

‘हामी भच्र्यअल कक्षाका हामी विरोधी होइनौं, तर नियमित कक्षाको विकल्प भच्र्युअल कक्षा हुन सक्दैन, पहिले प्रशासनले ५० प्रतिशतभन्दा कम विद्यार्थी अनलाइन कक्षामा सहभागी भए नगर्ने भनेको थियो तर अहिले ३० प्रतिशत विद्यार्थीलाई नै पढाइरहेको छ, यस्तो कसरी मान्य हुन सक्छ,’ उनले भने ।

अरुभन्दा पनि भोलि पठनपाठन पहिलेकै अवस्थाबाट रिपिट नहुने होकि भन्ने चिन्तामा आफूहरु भएको उनको संसय छ ।

‘पठनपाठन पहिलेको अवस्थाबाट सुरु नभए हामी पढाइबाट बञ्चित हुन्छौं,’ उनले गुनासो गरे ।

क्याम्पसले सिमित डाटा उपलब्ध गराए पनि त्यो डाटा आफ्नो ठाउँमा नचल्ने उनको भनाइ छ । त्रिविले आफ्नो नीति शहरकेन्द्रित विद्यार्थीमा आधारित भएर बनाएको समेत उनको गुनासो छ ।

अहिले धेरै शैक्षिक संस्थाहरुले अनलाइन माध्यमबाट नै पठनपाठन गरिरहेका छन् । त्यसबाट धेरै विद्यार्थी बञ्चित भइरहेका पनि छन् । यसले गर्दा उनीहरु आफु पढाइबाट बञ्चित भएको गुनासो गरिरहेका छन् ।

छुटेका विद्यार्थीको लागि कोर्ष रिपिट गरिन्छः त्रिवि

त्रिभुवन विश्व विद्यालयले अहिले भच्र्युअल कक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुका लागि लकडाउन सकिएपछि कोर्ष रिपिट गर्ने योजना बनाएको छ ।

त्रिविका रजिस्टार पेसल दाहालका अनुसार अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुले कोर्ष रिपिटको माग गरेमा सोही बमोजिम कार्य गर्न सकिने छ ।

‘अनलाइन कक्षा हाम्रा लागि नयाँ अनुभव हो, यसमा धेरै समस्या र चुनौतीहरु भने अवश्य नै हुन्छन्, हामीले सकेसम्म विद्यार्थीहरुलाई सहभागी हुने हिसावले कक्षा सञ्चालन गरिरहेका छौं,’ उनले भने ।

अहिले एभरेजमा सबै संकायमा ५० प्रतिशत विद्यार्थीको अनलाइन कक्षामा सहभागिता रहेको उनले बताए । ‘यो ट्रान्जेश्नल म्यानेज्मेन्ट मात्र हो, विद्यार्थीको समय खेर नजाओस् भन्नका लागि हामीले यो व्यवस्था गरेका हौं, दुर–दराजका विद्यार्थीलाई पनि समेट्ने उद्धेश्यले उनीहरुका लागि डाटा पनि उपलब्ध गरि दिएका थियौं, तर सबै सहभागी हुन सकेनन्,’ उनले भने ।

यो व्यवस्था नगर्यो भने हाम्रो शैक्षिक क्यालेण्डर पनि बिग्रने भएकाले भच्र्युअल कक्षा सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ । अब छुटेकाहरुलाई केहि शैक्षिक सामग्री उपलब्ध गराएर र केही कक्षाहरु लिएर व्यवस्थापन गर्न सकिने उनले बताए ।

जो विद्यार्थी प्रत्यक्ष कक्षा सञ्चालन भएको समयमा आफ्नो उपस्थिति जनाउन सक्छन्, उनीहरुलाई अफ्ठेरो छैन । तर, अनलाइन आएर कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई पनि कक्षा छुट्ला भन्ने चिन्ता लिनु पर्ने छैन । किनभने सम्बन्धित कलेज वा विद्यालयले रेकर्डेड फाइल पनि सँगसँगै पोस्ट गर्ने गरेको छ । पछि उनीहरुको लागि छुट्टै व्यवस्था गरिने उनको भनाइ छ ।

प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम

अनलाइन कक्षालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन त्रिभुवन विश्वविद्यालयले सबै शिक्षकहरुलाई तालिम प्रदान गरिरहेको दाहालले बताए ।

‘हालसम्म पनि धेरै शिक्षकले जीमेल आइडी पनि खोलेका थिएनन्, सबैलाई त्रिविले नै जिमेल आइडी खोलिदिएको छ, त्रिविको पुस्कालयको लागि अनलाइन जर्नल आइडीको पनि व्यवस्था पनि गरिदिएका छौं,’ उनले भने ।

यो समयको माग भएकाले शिक्षकहरु पनि त्यही अनुसार तयारी गरिरहेको उनको भनाई छ । अहिले सम्पूर्ण तयारी र हामी प्रविधिमैत्री भइसकेपछि यसलाई निरन्तराता थप गुणस्तरीय बनाउन सघाउ पुग्ने उनको विश्वास छ ।

त्रिविले अनलाइन कक्षालाई अब बिलेन्डेड मुडमा जान सकिने हिसावले तयारी गरिरहेको उनले बताए । पछि कतिपय अवस्थामा नियमित कक्षामा सहभागी गराएर र केही समय अनलाइनबाटै पठनपाठन गराउने किसिमले योजना नै बिलेन्डेड मोड हो ।

शिक्षाविद् भन्छन्ः पठनपाठन सहजका लागि स्थानीय तहले लगानी गर्न आवश्यक

अनलाइन कक्षा समयले ल्याएको माग भएर यसलाई सहर्ष स्वीकार गरेर यसको अवलम्बन गर्ने बाहेको विकल्प नभएको शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार यो समयमा धेरैभन्दा धेरै विद्यार्थीहरुलाई यसमा सहभागी गराएर पठनपाठन गराउनु पर्ने देखिन्छ ।

उनी यो समयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुन नदिनको लागि स्थानीय तहहरुले धेरै भूमीका खेल्न र लगानी गर्न आवश्यक रहेको बताउँछन् ।

अहिले स्थानीय तहहरु पनि भएकोले उनीहरुको सहजिकरणका लागि स्थानीय तहले लगानी गर्नु पर्ने उनको भनाई छ । आफ्नो स्थानीय तहभित्र भएका सम्पूर्ण विद्यार्थीहरुको सहज पठनपाठनका लागि स्थानीय तहहरुले भूमीका खेल्नु पर्ने उनले बताए ।

स्थानीय तहहरुले त्यहाँका विद्यार्थी र शिक्षकका लागि शैक्षिक सामग्री उपलब्ध गराएर सहज रुपमा पठनपाठन हुने वातावरण स्थानीय तहले मिलाई दिनु पर्ने उनको भनाई छ ।

‘अनलाइनमात्र नभएर टेलिभिजन, रेडियो, टेलिफोन लगायतका वैकल्पिक माध्यमहरुबाट पनि पठनपाठन गर्न सकिन्छ, त्यसका साथै उनीहरुका लागि सम्बन्धित विद्यालयले प्रसस्त मात्रामा पढ्ने शैक्षिक सामग्री दिनु पर्छ,’ प्राडा कोइरालाले भने ।

आनलाइन कक्षाको सेवाबाट विमुख भएका विद्यार्थीका लागि अनलाइनमा प्याकेज, मेरिट बनाएर दिनुपर्ने उनको भनाई छ । त्यसमार्फत उनीहरुलाई अन्य समयमा पढ्न र हेर्न सजिलो हुने उनको धारणा छ ।

अनलाइन कक्षाका चुनौती के ?

रजिस्टार दाहाल नेपालमा भच्र्युअल कक्षा नयाँ अनुभव भएकोले धेरै समस्या र चुनौती रहेको बताउँछन् । नेपालको विभिन्न दुर्गम ठाउँहरुबाट काठमाडौं पढ्न आउने भएकोले उनीहरुलाई अहलिे अनलाइन कक्षामा सहभागी गराउन नसक्नु मुख्य समस्या र चनौती भएको उनको भनाई छ ।

अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुलाई पनि समस्या हुने गरेको उनले बताए ।

‘घरि इन्टरनेटको लाइन जान्छ, घरि बत्ति जान्छ, भएको इन्टरनेट पनि राम्रोसँग चल्दैन, यस्ता धेरै समस्याहरु छन्,’ उनले भने ।

शिक्षकहरु प्रविधिमैत्री नहुनु पनि हाम्रो मुख्य समस्या भएको उनको भनाई छ । ‘धेरै शिक्षकलाई कम्युटर चलाउन पनि आउँदैन, अहिले धेरै जसो शिक्षकहरु बाध्यताले पनि सिकिहरेका छन्,हामीले तालिम दिएर पनि सहज बनाइरहेका छौं,’ उनले भने ।

अर्को मुख्य समस्या इन्टरनेटको शुल्क महंगो भएको उनको भनाइ छ । यस्ता सानातिना धेरै समस्या र चुनौती भएको उनले बताए । तर, समयको माग सँगै सिक्दै गर्दै जाने कुरा भएकोले यो समस्यालाई अवसरका रुपमा लिँदै काम गर्नुपर्ने उनको धारणा छ ।

अनलाइन कक्षाको अर्को चुनौती विद्यार्थीले बुझे वा बुझेनन् भनेर शिक्षकलाई यकिन गर्न समस्या हुने उनको भनाई छ ।

‘अनलाइन माध्यमबाट इन्डिभिज्युल रुपमा सोध्ने अवस्था पनि हुँदैन, आफुले लेक्चर दियो सक्कियो, यो पनि अर्को मुख्य समस्या हो,’ उनले भने ।

विद्यालयदेखि विश्वविद्यालयसम्म धमाधाम अनलाइन कक्षा सुरु हुन थालेका छन। विद्यार्थी भने इन्टरनेट, स्मार्ट फोन, कम्प्युटर, ल्यापटपको अभावले अनलाइन कक्षामा सहभागी हुन असहज भएको प्रतिक्रिया दिन्छन् ।

विश्वविद्यालयका प्राध्यापकहरु थोरै विद्यार्थी हुँदा स्नातकोत्तर तहमा अनलाइन कक्षा सहज भए पनि स्नातक तहमा चुनौतीपूर्ण रहेको बताउँछन् ।

त्रिविले अनलाइन कक्षालाई औपचारिक रुपमा पठनपाठन गराउन कार्यकारी परिषद्बाट निर्णय गराइसकेको छ । त्रिवि मातहतका क्याम्पस, स्कुल र विभागलाई पनि त्यसको व्यवस्था मिलाउन र आवश्यक उपकरण खरिद गर्न निर्देशन दिइएको छ ।

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीलाई मोबाइल डाटा चलाउन नेपाल टेलिकम, एनसेललगायत इन्टनेट सेवा प्रदायक कम्पनीसँग कुराकानी पनि गरिसकेको बताउाछन् । तर, त्यसको खासै फाइदा आफुहरुलाई नभएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

समस्याको समाधान कसरी गर्ने ?

कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा धेरै शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गरेका छन् । अनलाइन कक्षामा इन्टरनेट स्लोदेखि अन्य धेरै समस्याहरु छन् ।

अनलाइन कक्षमा कक्षा भइरहेको समयमा इन्टरनेटको कारण कक्षा सञ्चालन गर्न समस्या भइरहेको विभिन्न शिक्षकहरुले बताएका छन् ।

शिक्षाविद् कोइरालाका अनुसार नेपालमा धेरै इन्टरनेटको समस्या भएकोले प्रविधिमा निर्भर कक्षाका लागि ब्याकअप तयार पार्नु सकिन्छ । विद्यार्थीहशरुलाई अनलाइन कक्षाका बारेमा पूर्ण जाकारी गराएर त्यसमा अभ्यस्त गराउन सकेमा पनि धेरै समस्याहरु हट्न सक्ने उनको भनाई छ ।

त्यसले उनीहरुपनि केही मात्रामा उनीहरु पनि आफ्नो साइडबाट हुने समस्याको समाधानतर्फ लाग्न सक्छन् । अहिले धेरै विदार्थीहरुलाई कतै पढाई छुट्ने त होइन भन्ने डर तथा चिन्ता भएकोले उनीहरुलाई उचित सल्लाह सुझाव दिएर कोषमा केन्द्रित गर्न सकिने कोइरालाको भनाई छ ।

विद्यार्थीहरुमा भच्युअल कक्षा सम्बन्धि भएको समस्यालाई सहज रुपमा समाधान तर्फ शिक्षकले ध्यान दिनु पर्छ ।

(फ्रिडम फोरमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.