शिक्षा मन्त्रालय भन्छः यो महिनामा परीक्षाको टुंगो लाग्छ, असार १ गतेदेखि शैक्षिक कार्यक्रमहरु सुरु हुन्छ

  २०७७ जेठ २८ गते ११:२८     डाेमी शेर्पा

काठमाडौं । मंगलबार सरकारले लकडाउन गरेका ७८ दिन पुगेको छ । कोभिड १९ को कारण चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएका छन् ।

यो लकडाउनसँगै शिक्षा क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । एसईई, कक्षा ११ र १२, स्नातक तहदेखि लिएर विश्वविद्यालयको सबैस्तरको परीक्षाहरु स्थगित भएका छन् । बैशाखको पहिलो हप्ता सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र २०७७ पनि स्थगित नै छ । र, शैक्षिक क्षेत्र बन्द भएको करिब ३ महिना पुग्दासम्म शिक्षा मन्त्रालयको तर्फबाट कुनै पनि प्रकारको ठोस निर्णय भएको छैन ।

मन्त्रलायले लकडाउनको २ महिना पुरा गरिसकेपछि जेठ १८ गते आएर वैकल्पिक प्रणालीबाट विद्यार्थी शिक्षा सहजीकरण निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार मन्त्रालयले असार १ गतेबाट शैक्षिक गतिविधिहरुलाई अगाडि बढाउने निर्देशिका जारी गरेको हो । यस्तै परीक्षाको विषयहरु पनि छलफलकै क्रममा रहेको मन्त्रालय बताउँछ ।

मन्त्रालयले यो लकडाउनको समयमा के गर्यो त ?

शिक्षा मन्त्रलायले कोरोना महामारीको बेला शैक्षिक सत्र खेर जान नदिन असार १ गतेबाट सिकाईलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसको लागि मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको शिक्षामन्त्री गिरिराज मणि पोखरेलले जानकारी दिए ।

उनले प्राप्त सुझाव बमोजिम सिकाइ सहजीकरण सम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गरे ।

घरलाई नै विद्यालय बनाऔं भन्ने मुल लक्ष्यको साथ अभिभावक र विद्यालयलाई सामेल गराई यसलाई अगाडी बढाउन लागेको मन्त्री पोखरेलले बताए ।

‘यसको लागि मन्त्रायलले ४ वटा पद्धति तयार पारेको छ, पहिला विद्यार्थीहरुको हातमा पाठुयपुस्तक पुराउने र त्यससँगै सिकाई सामाग्रीहरु पनि तयार गरेका छौं, धेरै पालिकाहरुले छापेर बाँडिसकेका छन्, दोस्रो हामीले एफएमहरुबाट पठनपाठनहरु बढाऔं भनेका हौं, २०७२ सालमा पनि नाकाबन्दी पछिको स्थितिमा विशेष मधेसमा यो प्रकृया अगाडि बढाएका थियौं, अहिले पनि विभिन्न जिल्लामा यो सुरु भईसकेको छ,’ उनले भने ।

टेलिभिजन मार्फत पठनपाठन सुरु गर्ने कार्यक्रम छ, जसमा कक्षा ९ र १० को अनिवार्य विषयको पठनपाठन सुरु गरिसकिएको उनको भनाइ छ । गत आइतबारदेखि शुक्ररबारसम्म ११ देखि ३ बजेसम्म पढाई भइरहेको पनि मन्त्री पोखरेलले जानकारी दिए । कक्षा १ देखि ८ सम्मको सामाग्री पनि तयार हुदै गरेको उनको भनाइ छ ।

यस्तै मानव श्रोत विकास केन्द«ले पनि पोर्टेल निर्माण गरेको र त्यसबाट विद्याथीले आवश्यक सामाग्रीहरु लिनसक्ने पोखरेलले बताए । अनलाईन कक्षा कमको पहुँचमा भएको कारण चौंथो पद्धतिको रुपमा यसलाई लिएको उनी बताउँछन् ।

यस पद्धतिले विद्यार्थीहरुको शैक्षिक क्षतिलाई कम गर्ने र भोली गएर शैक्षिक सत्र सुरु हुँदा त्यससँग जोड्नलाई ठूलो मद्धत पुराउने आशा आफुहरुले गरेको मन्त्री पोखरेलले बताए ।

‘यस पद्धतिको लागि स्थानीय तहलाई प्रारम्भिक रुपमा सहयोग गर्नको लागि ३,४ र ५ लाख गरी २८ करोड रकम चालु बजेटबाट नै माग गरी अर्थमन्त्रालय पठाएको छौं, आउने वर्ष यसको लागि १ अर्ब ६४ करोड रकम यसको लागि छुटाईको छ,’ उनले थपे ।

परीक्षहरुको विषयमा के हुँदैछ ?

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले परीक्षाहरुको विषयमा भएको अन्योलतालाई सरकारले तुरुन्त निकास दिने बताए ।

उनले विद्यालय तह, स्नातक तह, स्नाकोत्तर तहलगायत सबै तहको अन्तिम वर्षको परीक्षाहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा संचालन गर्ने तयारी भइरहेको बताए ।

यस्तै पहिलो समेस्टरको पढाई पुरा भएकाहरुलाई परीक्षा नलिई दोस्रो सेमेस्टरमा लैजाने र समय हेरेर परीक्षा शैक्षिक सत्र क्षति हुन नदिन तर्फ अन्तिम गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

आगामी दिनमा के हुन्छ भन्ने विषय विपतसँग गाँसिएको र धेरै विद्यालयहरु क्वारेन्टिन बनाइएका हुनाले पनि केही समस्याहरु आईपरेको पोखरेलले बताए ।

‘एसईईको परीक्षा नहुँदा कारण धेरैमा मनावैज्ञानिक असर परेको हामीलाई थाहा छ तर समस्या एसईईमा मात्र नभएर सबैमा भएको कारण समस्ता परीक्षाहरुलाई लिएर एउटा धारण बनाउन लागेका छौं,’ मन्त्री पोखरेलले भने ।

एसईईको हकमा भने सुरुमा केन्द्र थपेर परीक्षा संचालन गर्ने निर्णयमा पुगिएको तर संक्रमण बढ्दै गएपछि र मृत्युका घटनाहरु पनि सुनिएपछि त्यसलाई स्थगित गरी अब मन्त्रालय विभिन्न विकल्पमा पुगेको पनि उनले बताए ।

एसईई खारेज गर्ने कि, एसईई परीक्षा विद्यालयलाई नै सुम्पिने वा अहिले परीक्षा दिन पर्खिरहेकाहरुलाई कम्तिमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरिदिने उचित पद्धति निर्माण गर्ने विषय पर्याप्त गृहकार्य छलफल भइरहेको र यस महिनाभित्र लकडाउनको विषयलाई लिएर भएको निर्णयसँगै परीक्षाको निर्णय पनि आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.