बरु १ घण्टा खोलौं, शुल्क मिनाहा गरौं, बजार चलायमान गर्न पनि सेयर बजार खुलाऊँ

  २०७७ जेठ २७ गते १९:५८     डा. रेवतबहादुर कार्की

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आयो । तर, सेयर बजारको लागि केहि आएन । आए त केबल पहिलेकै कुराहरु । नयाँ केही छैन ।

सेयर बजार अपहेलित जस्तो भयो । पहिला धितोपत्र बोर्डलगायत सरकारले पहल गरेका कारण बजार विकास भइसकेको छ । बैंकमा पैसा राख्नुको सट्टा सेयरमा लगानी गरे हुन्छ भन्ने मान्यताको विकास भयो । यही मान्यताको कारण लाखौंले सेयर बजारमा लगानी गरे ।

तर अहिले बजार बन्द गरेर राखिएको छ । कतिपयले बजार घट्छ भनेर बजार बन्द गर्नुपर्ने पनि भनिरहेका छन् । आर्थिक अवस्था अनुसार बजार घट्छ, बढ्छ । त्यो स्वभाविक हो । तर बजार घट्छ भन्दैमा डराएर नखोल्नु जायज हो जस्तो मलाई लाग्दैन ।

सेयर बजार जस्तो सम्बेदनशील क्षेत्र, जसले अर्थतन्त्र चलायमान गर्छ, पुँजी परिचालन गर्छ । अर्थतन्त्रको इन्डिकेटरलाई नै बेवास्था गरेर कसरी देशको अर्थतन्त्र चल्छ ? सेयर बजार चलेको छैन भन्यो भने देशको सबै इकोनोमी बन्द रहेछ भन्छन्, बाहिरका मान्छेले ।

हेर्दा केही घाटा भएको छैन जस्तो देखिन्छ । तर, सबै क्षेत्रको हिसाव गर्ने हो भने दैनिक साँढे ९ अर्ब जति घाटा भइरहेको छ । कतिपय देशमा लकडाउन सँगसँगै सुरक्षित तरिकाले अर्थतन्त्र चलायमान पनि भइरहेको छ । र, स्थिति पनि नियन्त्रणमा आएर कोरोनामुक्त भनेर घोषणा पनि गरिसकेका छन् ।

अन्य देशले पुँजी बजारलाई अत्यावश्यक सेवाको रुपमा सञ्चालन गर्छन् । अर्थतन्त्र सँगसँगै संसार भरी पुँजी बजार चलायमान छ । तर, बिडम्बना भन्नुपर्छ, हाम्रोमा पुँजी बजारलाई प्राथमिकता दिइएको छैन ।

बजार चलायमान गर्ने भनेको धितोपत्र बोर्डलगायत पुँजी बजारसँग आवद्ध संस्थाहरुले आफ्नो महत्व छ, इमर्जेन्सीको समयमा पनि यसको महत्व छ भनेर दर्शाउनु पनि हो । वास्तवमै भन्ने हो भने अहिले बजार सञ्चालन नगरेर उहाँहरु आफैले यसको महत्व छैन भनेर देखाएको जस्तो बुझिन्छ ।

बजार हो, कसैलाई बिक्री गर्नु परेको हुन सक्छ । कसैले किन्ने मौका यही हो भनेर किन्न सक्छन् । त्यसैले अहिले बजार बन्द गर्नु नै समस्याको समाधान हो भन्ने सोच राम्रो होइन ।

धितोपत्र बजारसँग सरोकारवालाहरुले आफ्नो व्यवसाय तथा संस्थाको महत्व नबुझेको जस्तो मलाई लाग्छ । उहाँहरुले आफ्नो उपस्थिति देखाउन पनि बजार खुलाउनु पर्छ । बीचमा दुई दिन खुलाउनु त भएको थियो । तर फेरि बन्द भयो ।

दुई दिन खुलाएर डराउने होइन । हामीले इन्डेक्स कतिमा जान्छ भन्ने पनि होइन । देशको इकोनोमी नै डामाडोल छ, बजार कसरी बढ्छ ? यस्तो अवस्थामा अर्थतन्त्रको सूचक सेयर बजार घट्नु स्वभाविक हो । परिसूचकले त देशको इकोनोमी जस्तो छ, त्यही इंगित गर्ने न हो ।

लगानीकर्ताहरुले अब हडताल गर्ने रे, अनसन बस्ने रे भन्ने पनि हल्ला छ बजारमा । तर केको लागि अनसन बस्न लाग्नुभएको हो भन्ने बुझ्न सकिएको छैन । अर्थतन्त्र नै डुबिसेकेको अवस्थामा अनसन बसेर के फाइदा हुन्छ र ?

मुख्य कुरा के हो भने, अर्थतन्त्र १० देखि २० प्रतिशत चलायमान छ । अर्थतन्त्र विकासको लागि पुँजी परिचालन गरिनु पर्छ । अर्थतन्त्रको परिसूचक भएको पुँजी बजार बन्द हुनु भनेको मृत अवस्थामा रहेको जस्तै हो । परिसूचक नै मरेको छ भने अर्थतन्त्र चलायमान छ भन्ने कसरी ?

पुँजी बजार बचाउनको लागि पनि केही व्यवस्था गर्नुपर्यो । अनलाइन आयो भनिन्छ । तर, बजार बन्द गरेर बसिन्छ । अहिले भएका विद्यमान व्यवस्थालाई हेरफेर गरेर बजार खुलाउन सकिन्छ ।

१० कित्तामा समस्या भए अर्को व्यवस्था गर्ने

लकडाउनको बीचमा दुई दिन भएको कारोबारमा १० कित्ते नीतिले गोलमाल गरे भन्ने पनि हल्ला थियो बजारमा । तर, त्यस्तो हुनु नपर्ने हो । यदि हो भने पनि त्यसलाई हेरफेर गरेर कारोबार गर्नको लागि कम्तीमा ५० कित्ता अथवा १०० हुनु पर्छ भनेर अल्पकालिन नीति पनि बनाउन सकिन्छ ।

कारोबार समयलाई घटाउने

दिनमा २ घण्टा खुलाउँदा धेरै उथलपुथल भयो भने दिनको १ घण्टा चलाउन सकिन्छ । मानौं, कोहि एक व्यक्तिको सम्पतिको नाममा सेयर मात्र छ । यो अवस्थामा उहाँलाई जीवन चलाउन पैसाको खाँचो परेको छ । तर बजार बन्द छ । अब के गर्ने ? धरौटी राख्ने कि के गर्ने ? उहाँको लागि उक्त सेयर अहिले खोस्टो बराबरको भएको छ । यदि बजार खुलेको भए त्यस्तो समस्या आउने थिएन । त्यसैले बजारमा तरलता त हुन पर्यो नि ।

निःशुल्क कारोबार गर्ने व्यवस्था मिलाउने

धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकरहरुले कारोबार गर्दा लाग्ने शुल्क नलिने व्यवस्था मिलाउन सक्ने विकल्प पनि छ । यसको मतलब सँधैलाई शुल्क नलिनु भनेको होइन । यो अवस्था अर्थात लकडाउन अवधिभर शुल्क नलिई कारोबार सञ्चालन गर्न सकिन्छ । यसो गर्दा बोर्ड, नेप्से तथा ब्रोकरले आफ्नो उदारता देखाएको जस्तो पनि हुने । र, लगानीकर्ता पनि लगानी गर्न प्रोत्साहित हुने छन् ।

करमा छुट दिने

बजार चलायमान बनाउनको लागि करमा छुट दिने व्यवस्था मिलाउन सकिन्छ । अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै व्यवस्था मिलाउन सकिन्छ । इमरजेन्सी समयमा कुनै पनि नियम लागू हुँदैन भने जस्तै, अहिले तत्काललाई शुल्कहरुमा हेरफेर गर्न सकिन्छ ।

व्यक्तिगत स्वार्थ छोडेर पुँजी बजारको हितको हिसावले अघि बढ्ने

पुँजी बजारका सरोकारवालाहरु आफ्नो व्यक्तिगत स्वार्थ छोडेर पुँजी बजारको हितको हिसावले संयमित रुपमा अघि बढ्न सक्नेछन् । बजार चलेपछि नियमनको महत्व, स्टकको महत्व, ब्रोकर तथा मर्चेन्ट व्यवसायीको महत्व लगायत लगानीकर्ता सबैको महत्व हुन्छ । आफ्नो महत्व देखाउन र बजार अत्यावश्यक हो भनेर जनाउनको लागि पनि उपस्थिति चाहिन्छ । त्यसैले कोही कसैले पनि चलखेल नगरी बजारको हितको लागि काम गरौं ।

व्यक्तिले आफ्नो स्ट्याटस आफै बनाउने भने जस्तै संस्थाले पनि आफ्नो स्ट्याटस आफै बनाउने हो । त्यसैले, धितोपत्रले पनि आफ्नो अधिकारलाई अधिकतम प्रयोग गरी अल्पकालिन केही व्यवस्था गरी, समस्याहरुको समाधान गर्दै तत्काल बजार खुलाउनतिर लाग्नु उचित हुन्छ । बजार खुलाउँदा बजार घट्यो भनेर बस्नु हुँदैन । कहाँ समस्या भयो, त्यसलाई समाधान गरेर अघि बढ्न सकिन्छ । चलखेल गर्नेलाई त्यही अनुसारको कारवाही गर्नुपर्यो ।

लगानीकर्ताहरुले पनि विवेकपूर्ण हिसावले बजारमा कारोबार गर्दा फाइदा नै हुन्छ । बजार घटेपछि बैंकहरुले मार्जिन कल गर्न थाल्छन् भनेर पनि लगानीकर्ता डराएका हुन् । यसमा बैंकहरु पनि संम्बेदनशील हुनुपर्यो र अल्पकालिन केही व्यवस्था गर्नु पर्यो । डराएर मात्र भएन ।

(धितोपत्र बोर्डका पूर्व अध्यक्ष तथा अर्थविज्ञ कार्कीसँग गरिएको कुराकानीमा आधारित)

One comment on "बरु १ घण्टा खोलौं, शुल्क मिनाहा गरौं, बजार चलायमान गर्न पनि सेयर बजार खुलाऊँ"

  • Depesh says:

    Terima torpe kasri garjo tarchha 50 kitta kinbecha lae lakhau lagani karta ko dainiki. you ta sadayentra garera market ghatauna khojeko hos. post ma basda k hi garna nasakne ani bahira gayesi bhukne.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.