बेलायतबाट नेपाल फर्किन चाहने ३ सय ९१ को विवरण नेपाल पठाइयो

  २०७७ जेठ २७ गते ९:१४     विकासन्युज

लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३  सय ९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १सय ५४ जना रहेको छ । त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् ।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.