चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने

  २०७७ जेठ २७ गते ७:४६     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ ।

“शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन् । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिकामा १५ वडा रहेका छन् ।

यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ । सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो ।

“भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले चन्द्रागिरिले क्वारेन्टिनको क्षमतालाई विस्तार गर्न लागेको हो”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरीले पछिल्लो समय पिसीआर परीक्षणलाई समेत तीव्रता दिएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.