पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

  २०७७ जेठ २४ गते १५:४३     विकासन्युज

इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएका छन् । लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी बर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने जनाए ।

त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ । प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिए । पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७ सय ३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ ।

ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजार ९ सयभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९ सय ३५ जना पुगेको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन् । यहाँका ३२ हजार जना भन्दा बढीलाई निको भएको बताइएको छ । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो । रासस–एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.