कोरोना भगाउने भन्दै जलाशय तथा मन्दिरमा महिलाको भीड, भन्छन्- पूजाआजा गर्दा भाग्छ

  २०७७ जेठ २३ गते १८:०९     विकासन्युज


काठमाडाैं । कोरोना भाइरस (कोबिड-१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ ।

सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मुखमा मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिईरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्याउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदै पूजाआजा गर्न व्यस्त छन् ।

नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयवासीले बताएका छन् । महिला नयाँ लुगा लगाइ डालामा लड्डु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्तीलगायतका पूजा सामग्री राखेर कमला नदी, बलान खोला तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ ।

देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका सिरहाको लहान नगरपालिका-१ की ललितादेवी मण्डलले बताउनुभयो । कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ टोलमा प्रवेश नगर्नु भनी बिन्ती गरेपछि कोरोना नआउने हल्लाअनुसार नै महिलाले पूजाआजा गर्ने गरेको मण्डलको भनाइ छ ।

‘एक महिला झाँक्रीले आफूलाई कोरोना सपनामा आएर मलाई पूजा गर्नु अनि म गइहाल्छु भनेको छ भन्ने हल्ला चलेको छ’, सोही ठाउँकी सोमित्रादेवी दासले भने, ‘त्यही भएर हामीहरु पनि नजिकैको बलान खोलामा पुगेर पूजा गरेका छौँ ।’ बेलुका मन्दिरमा पुगेर दियोसमेत बालेको उनको भनाइ छ ।

यतिमात्रै होइन, कतिपय स्थानका महिलाले कोरोना भाइरसलाई (बाबा) र माता भनी सम्बोधन गर्दै महिला दैनिक पूजापाठ गर्न नदी, तलाउ तथा मन्दिरमा पुग्ने गरेकाले महिलाको भीड लाग्ने गरेको सिरहाको कर्जन्हा नगरपालिका-१ की बबिता कार्कीले बताए । लकडाउनमा घरबाट निस्कन नहुने अवस्था रहँदा पनि त्यसलाई चुनौती दिँदै पैदलयात्रा गरी नदी तथा मन्दिरमा पुग्ने गरेका छन् ।

‘हल्लाको भरमा भिड भाड गरि पुजापाठ गर्ने कार्य तत्काल रोक्नुपर्यो’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले भने, ‘महिलाहरु यसरी समुह बनाएर पुजाआजा गर्दा कोरोना हट्ने कुरामा न त कुनै वैज्ञानिक तथ्य छ नत कुनै आधार नै, कुनै धामी झाँकीकै हल्लाको भरमा हुल बनाएर पूजापाठ हुनु भ्रममात्र हो यसबाट कोरोना त नियन्त्रण हुँदैहुँदैन, बरु अझ फैलिने खतरा छ, त्यसैले तत्काल यस्तो कार्य रोक्नुपर्छ ।’ अन्यथा स्थिति भयाबह हुन सक्ने उहाँको कथन छ ।

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले यस्तो अवस्थामा पनि समूह बनाएर नदी र मन्दिर पुग्ने महिलालाई सम्झाइबुझाइ गरी रोक्ने प्रयास गरिरहेको बताए । ‘प्रहरी प्रशासनले रोक्ने प्रयास गरे पनि चेतनाको अभावमा महिला लुकीछिपी नदी नाला र मन्दिर पुग्ने गरेका छन्’, प्रजिअ गुरागाईले भने, ‘पूजापाठका नाममा हुने गरेको महिलाको भीडभाडलाई रोक्न समाजका सबै पक्षको सहयोग जरुरी छ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.