जागीर खाने सोच्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् ईन्टरभ्यूको तयारी

  २०७७ जेठ २२ गते २०:५३     सुशिल घिमिरे ‘त्रैलोक्य’

एउटा राम्रो संस्था, राम्रो कम्पनी, इज्जतदार नोकरी र दिगो पेशा रोज्न खोज्नु अनि पेशागत मान–प्रतिष्ठाका साथै आर्थिक रुपमा सवल र सक्षम हुन खोज्नु आजका हरेक युवाको चाहना हो । ईन्टरभ्युलाई नोकरीको लागि छनौट प्रकृयाको अन्तिम कडीका रुपमा लिन सकिन्छ । तपाईंले कुनै निश्चित स्थानमा नोकरी पाउने वा नपाउने भन्ने कुराको निर्धारण इन्टरभ्यूले नै गर्ने हुनाले तपाईंले ईन्टरभ्यूमा आफुलाई प्रतिस्पर्धि सामु खरो रुपमा उतार्नु पर्ने हुन्छ । ईन्टरभ्यूको तयारी राम्रो सँग नगरेको कारणले हात लागिसकेको नोकरी पनि फुत्केका उदाहरणहरु प्रशस्तै पाइन्छन् । त्यसैले तपाईं यदी नोकरीको खोजीमा हुनुहुन्छ भने तल दिइएका कुराहरुलाई ध्यानमा राखेर ईन्टरभ्युको तयारी गर्नुहोस् ।

कम्पनीको बारेमा राम्रो सँग बुझ्नुहोस्
ईन्टरभ्यूको तयारी गर्दा सबैभन्दा पहिले तपाईंले ईन्टरभ्यू दिन लाग्नुभएको कम्पनीको बारेमा राम्रोसँग बुझ्नु पर्ने हुन्छ । व्यवस्थापकहरुले आफ्ना कर्मचारीले कम्पनीको बारेमा राम्रो सँग जानकारी प्राप्त गरेको होस् भन्ने चाहने हुनाले “तपाईंलाई यो कम्पनीको बारेमा के थाहा छ ?” भनी अक्सर सोध्ने गरेको पाइन्छ । त्यसैकारण, तपाईंले इन्टरभ्यूको तयारी गर्ने क्रममा सम्बन्धीत कम्पनीको वारेमा राम्रो सँग अध्ययन गर्नु जरुरी हुन्छ ।

स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउनुहोस्
तपाईंमा सम्बन्धित नोकरीप्रतिको स्किल कस्तो छ, क्वालिफिकेशन मिल्छ मिल्दैन, यो नोकरी तपाईंलाई सुहाउँदो छ कि छैन ? नोकरी गरेर भविश्यमा पछुताउनु पो पर्ने हो कि भन्ने जस्ता कुराहरुमा विचार गर्नुहोस् । नोकरी यस्तो रोज्नुस् जुन जीवनभरी बोझका रुपमा नभएर काम गर्दा मज्जा आओस् । यसका लागि तपाईंले स्किल, क्वालिफिकेशन र नोकरीका बिच तालमेल मिलाउन जरुरी छ ।

सामान्यतया सोधिने प्रश्नहरुको सुची तयार गर्नुहोस्
ईन्टरभ्यूको तयारी गरिरहँदा सामान्यतया सोधिने प्रश्नहरुको सूची तयार पार्नुहोस् । जस्तै – तपाईंमा त्यस्तो के छ ? तपाईंलाई हामीले किन छनौट गर्ने ? तपाईं हाम्रो कम्पनीलाई कसरी अगाडि बढाउनु हुन्छ ? केही भिजन छ तपाईंमा ? जस्ता प्रश्नहरु हरेक ईन्टरभ्यूमा अक्सर सोधिने गर्दछन् ।

घरमै पटक–पटक ईन्टरभ्यूको रिहल्सल गर्नुहोस्
धेरैजसो मानिसहरु ईन्टरभ्यू दिने क्रममा नर्भस महसुस गर्ने, सजिला प्रश्नहरुको उत्तर पनि राम्ररी नदिने, भक्भकाउने जस्ता क्रियाकलाप गरेर ईन्टरभ्यू बिगार्ने गर्दछन् । त्यसैले तपाईंले यस कुरालाई ध्यानमा राख्दै ईन्टरभ्यूको तयारीका क्रममा धेरै पटक ईन्टरभ्युको रिहल्सल गर्नुहोस् ।

राम्रोसँग डकुमेन्टेशन गर्नुहोस्
ईन्टरभ्यू दिनुभन्दा अगाडि नोकरीसँग सम्बन्धित आबश्यक कागजपत्रहरु जस्तै – योग्यताको सम्पूर्ण र्सिर्टफिकेटहरु, अनुभवका पत्रहरु, तालिम, गोस्ठि तथा सेमिनारमा पाएका प्रमाणपत्रहरु तयार पारेर राख्नुहोस् ।

लगाउने कपडाको छनौट गर्नुहोस्
ईन्टरभ्यू दिन जाँदा आफूलाई सामान्य रुपमा प्रस्तुत गर्नु राम्रो हुन्छ । महँगो लुगाभन्दा पनि सफा, चिटिक्क परेको लुगा लगाउनु राम्रो हो । तपाईको पहिरनबाट नै तपाईको बाहिरी रुप झल्किने हुनाले र त्यसैगरी कम्पनीले पनि आफ्ना कर्मचारीहरु साधारण नै होस् भन्ने चाहने हुनाले गर्दा तपाईंले आफूलाई धेरै हाइफाइ रुपमा प्रस्तुत नगर्ने खालको कपडाको छनौट गर्नु राम्रो हुन्छ ।

लोकेशन पहिल्यै निश्चित गर्नुहोस्
कतिपय व्यक्तिहरु ईन्टरभ्यू दिन जाने कार्यालयको लोकेशन पहिल्यै थाहा नपाउँदा ईन्टरभ्युको दिन केही ढिला हस्याङ फस्याङ गर्दै पुग्ने गर्दछन् जसबाट उसको इन्टरभ्यूमा पनि नकारात्मक प्रभाव पर्न जान्छ । त्यसैले ईन्टरभ्यूको दिनमात्र सो कार्यालय खोज्नु भन्दा बरु केही दिन अघिनै तपाईं लोकेशनसम्म पुगेर त्यसको वारेमा निश्चिन्त हुनुहोस् ।

समयभन्दा अगाडि पुग्नुहोस्
ईन्टरभ्युमा तोकिएको समयभन्दा करीब आधा घण्टा अगावै पुग्नु जरुरी हुन्छ । जुनसुकै कम्पनीमा पनि समयको महत्व अति आवश्यक हुने भएकोले तपाईं समय अगावै पुग्नुहोस् । यसबाट तपाईंले समयलाई ख्याल गरेको पनि देखिन्छ भने तपाईप्रति कम्पनीको धारणा पनि सकारात्मक देखाउन मद्दत पुग्दछ । तोकिएको समयभन्दा केही वेर अघि पुग्नुभयो भने तपाईं आफू पनि त्यहाँको वातावरणलाई आत्मसाथ गर्न सफल हुनुहुनेछ ।

आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस्
अहिलेको प्रतिष्पर्धात्मक समयमा हरेक कम्पनीले आत्मविश्वासी कर्मचारीहरुलाई मात्र नोकरीमा राख्न मन पराउँछन् । त्यसैले तपाईं पनि इन्टरभ्यूको समयमा आत्मबिश्वासी भएर प्रस्तुत हुनुहोस् ।

वास्तवमा, ईन्टरभ्यू नै तपाईलाई छनौट गरिने अन्तिम कडि भएकोले गर्दा माथि बताइएका उपायहरुमा ध्यान दिनुहोस् । त्यसैगरी उपरोक्त उपायहरुका अलावा बडि ल्याङ्वेज, बोलीको हाउभाउ, सोधिएको प्रश्नका उत्तर दिने शैली, ईन्टरभ्यू दिन कोठामा प्रवेश गर्दा देखाउने आदर लगायतका स–साना कुराले पनि अति महत्व राख्ने गर्दछ ।

बिराटनगर–५
ghimiresushil38@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.