अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने- विनोद चौधरी

  २०७७ जेठ २२ गते १८:३७     विकासन्युज


काठमाडौं । लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने बताएका छन् । कोभिड-१९ कारण अर्थतन्त्रमा परेको असर र प्रदेशको आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटका उदेश्य र लिनु पर्ने प्राथमिकताका बारेमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

आगामी दिनमा देशको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा लिइनु पर्ने नीतिका बारेमा सबै प्रदेशका सदस्यहरु र उद्योगी व्यवसायीहरुसँग गरिएको छलफल कार्यक्रममा उनले कोभिड-१९ का कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने भन्दै त्यसको असर कम गर्न लागि हामी सबैको सामुहिक प्रयास जरुरी भएको बताए ।

साथै, उनले यो विशेष समितिले कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न संघीय सरकार र प्रदेश सरकारले लिनु पर्ने नीति र आगामी आर्थिक बर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने बिषयमा प्रकाश पारेका छन् । सोही उदेश्यले प्रदेश सभाका सदस्यहरु र उद्योग व्यवसायसँग सम्बन्धित सबै पक्षसँग निरन्तर छलफल आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा समितिका सहसंयोजक उमेश श्रेष्ठले अब पनि व्यवसाय निर्वाध सञ्चालन गर्न नसके अर्को वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने बताए । संघीय बजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न असफल हुँदा त्यसको असर प्रदेश बजेटमा पर्ने चिन्ता उनले प्रकट गरेका छन् ।

कार्यक्रममा विशेष समितिका सहसंयोजक पूर्व मन्त्री दीपक खड्काले यो समिातिले उद्योगी व्यवसायी र राजनैतिक नेताहरुको बीच पुलको काम गर्ने बताए । त्यस्तै, कार्यक्रममा विशेष समितिका सहसंयोजक मा. इन्द्र वानियाले आवत जावतको कठिनाईले व्यापारमा धेरै घाटा भएको र अब व्यवसायीहरु घाटा सहन नसक्ने बताए ।

कार्यक्रममा संघीय सरकारको २०७७।०७८ को नीति तथा कार्यक्रम, बजेट र आगामी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तफबाट सबैलाई जानकारी गराईएको थियो ।

सबैजसो प्रदेशका सहभागीहरुले अबका दिनमा लामो लकडाउनका कारण कोभिड-१९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयाभह भएको विचार राखेका थिए । यसैगरी लकडाउन बढ्दै गएमा कोभिड-१९ ले भन्दा भोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो ।

प्रदेश १ का सहभागीहरुले उद्योग धन्दा बन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए । विराटनगर कोरोडोरमा मात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत भएको थियो । अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक बन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो ।

प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक छ, सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित छ भन्ने विचार व्यक्त गरे । देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यही रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुका ध्यान दिने आसा व्यक्त गरे ।

बाग्मती प्रदेशका सहभागीहरुले काठमाडौं हेटौंडा सरुंग मार्गले यो प्रदेश र पुरै देशको मुहार परिवर्तन गर्ने बताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए । साना व्यवसाय डबे ठुला चल्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगामी वर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुले जनाए ।

गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले यो कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिशाप भएको बताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा समितिका सदस्य सूर्य वहादुर केसीले अबका दिनमा नेपाली श्रम बजारमा दक्ष श्रमिकको अभाव हुनेहुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए ।

प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार हुन् भन्ने विचार व्यक्त गरे । अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो ।

कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कर्णालीको विकासको अबरोध भएकोमा जनाए । महत्वपूर्ण जडिबुटि देखि लिएर राराताल सम्मको यो क्षेत्रको बजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उनीहरुले बताए ।

सुदुर पश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमाबाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । पचास प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्या अझैं बढ्न जानाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे ।

विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटमा सम्वन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.