६ महिनापछि सञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान

  २०७७ जेठ २२ गते ९:३३     विकासन्युज

भरतपुर । ६ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन पूर्णरूपमा सञ्चालनमा आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।

गएको मङ्सिरदेखि बिग्रिएको मेसिन लामो समयसम्म नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महङ्गो शुल्कमा सिटी स्क्यान गराउन बाध्य भएका थिए । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका थिए भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा सिफारिस हुने गरेका थिए ।

मेसिन बिग्रँदा बीमाका बिरामी बढी प्रभावित भएका थिए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भने, “न्यूरोको शल्यक्रियासमेत हुन सकेको थिएन, एक वर्षका लागि मर्मत गर्ने कम्पनीसँग सम्झौता गरिएको छ ।” भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम तीनदेखि ९ हजारसम्म तिर्नुपर्छ ।

अन्य निजीमा ४ देखि १३ हजारसम्म तिर्नुपर्छ । भरतपुर अस्पतालमा दैनिक औषत १२ देखि १५ जनाले सिटी गराउँदै आएका छन् । विसं २०७४ जेठमा ६ करोड ४७ लाख रकम खर्चिएर खरिद गरेको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिना पनि नपुग्दै बिग्रिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.