कर तिर्ने म्याद ३ महिना थप्न घरेलु महासंघको माग

  २०७७ जेठ २१ गते २०:३०     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै महासंघले उक्त माग गरेको हो ।

महासंघले विगतमा लकडाउन समाप्त भएको मितिले कर चुक्ता गर्ने म्याद ६ महिनाको थप गरिदिन माग गरेको भएपनि हाललाई कम्तिमा ३ महिना कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्नु न्यायोचित भएकाले लघु, घरेलु तथा साना उद्योगहरुका लागि कर विवरण तथा कर दाखिला गर्ने म्याद ३ महिना थप गरिदिने व्यवस्था हुन सरकारसँग माग गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन् ।

‘लघु, घरेलु तथा साना उद्योगहरु थोरै पुँजीमा स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्दै संचालन हुने उद्योग भएकाले लामो समयको लकडाउनका कारण यस्ता उद्योग व्यवसायीहरु आर्थिक रुपमा जर्जर हुन पुगेको सर्वविदितै छ । मुलुकको समग्र विकासका लागि सरकारलाई कर तिर्नु आवश्यक छ र यसको दायित्व वोध उद्यमी व्यवसायीले पनि गरेका छन् । तर कोरोना भाइरसको संक्रमणका कारण लकडाउनले सवै क्षेत्र आर्थिक रुपमा प्रायः टाट पल्टिन लागेको वर्तमान अवस्थामा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले हालै सूचना जारी गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गतेसम्म तोकेकोमा हामी उद्यमी व्यवसायी मर्माहत भएका छौं ।’- विज्ञप्तिमा उल्लेख छ ।

कोभिड-१९ को महामारीले आक्रान्त पारेको वर्तमान अवस्थालाई यथास्थानमा पुर्याउने प्रमुख माध्यम नै उद्योग व्यवसाय भएको र मुलुकको आर्थिक समृद्धीको आधार पनि लघु, घरेलु तथा साना उद्योगको क्षेत्र भएकाले यसलाई दृष्टिगत गरी सरकारले कर विवरण तथा कर दाखिला गर्ने म्याद खुकुलो बनाउनु पर्ने अवस्थामा यस क्षेत्रलाई नै आतंकित बनाउने तरिकाले लकडाउनको अवधिमै कर दाखिला गर्ने म्याद तोकिनु उचित नभएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.