कोरोना नियन्त्रण गर्न सरकारको प्रयासः पौने १० अर्ब खर्च, २ अर्ब ३१ कराेड रुपैयाँ जम्मा

  २०७७ जेठ २१ गते १७:४७     विकासन्युज

काठमाडौं । सरकारले विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । हालसम्म ६४ जिल्लामा पुगिसकेको यसको संक्रमण क मगर्न पीसीआर परीक्षणको दायरा बढाउनेदेखि लकडाउनमा कडाई गरी यसको जोखिम कम गर्न सरकारले प्रयास गरिरहेको छ।

सरकारले यो भाइरसको जोखिम कम तथा नियन्त्रण गर्नको लागि हालसम्म पौने १० अर्ब रुपैयाँ खर्च गरेको बताएको छ ।
सरकारले कोरोना भाइरस भएका बिरामीको उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बताएको हो ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले सो रकम खर्च भएको बताएका हुन् ।

उनका अनुसार अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरिएको हो । त्यसमा पनि स्थानीय तहबाट भएको खर्चको विवरण नआएको उनले बताए । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए ।

यस्तै, सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा हालसम्म २ अर्ब ३१ करोडभन्दा बढी रकम संकलन भएको छ ।

कोषमा रकम जम्मा गर्नेहरुको विवरण र रकम प्रधानमन्त्री कार्यालयले दैनिक अद्यावधिक गर्दै सहयोग गर्नेको नाम तथा कोषमा प्राप्त रकम प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राख्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.