मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

  २०७७ जेठ २१ गते १४:०७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

यससँगै मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि हुने मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए ।

सभामा बोल्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताईन् । उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिईन् ।

यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सीईओ खुञ्जेलीले जानकारी दिईन् ।

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिव ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।

यसै बीच, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.