२०७७ जेठ २१ गते १३:३१ विकासन्युज
काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघले लकडाउन भई उद्योग व्यवसाय बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिप्पणी गरेको छ ।
त्यसैले असारदेखि चार महिना थप गरी असोज मसान्तभित्र कर तिरे पुग्ने गरी कर तिर्ने मिति लम्व्याउन महासंघका अध्यक्ष शिव कट्टेलले माग गरेका छन् ।
‘कोभिड-१९ को संक्रमणले मुलुक लकडाउनमा भएका भई उद्योग व्यवसायीहरु सबै थिलथिलो रहेको बेला कर उठाउन सरकारले लिएको दोहोरो नीति गलत छ, अध्यक्ष कट्टेलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसले उद्योग व्यवयासीको घाँंटी निमोठ्ने काम मात्रै भएको छ ।’
राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकेको सरकारले खर्च धान्न धौधौ भएपछि लकडाउनकै बीचमा कर तिर्न उर्दी जारी गरेको थियो । बजेटमा पर्याप्त राहत प्याकेज नल्याउँदा असन्तुष्टि जनाइरहेका बेला आन्तरिक राजस्व कार्यालयले कर तिर्न मंगलबार सूचना प्रकाशित गरेको थियो ।
कर उठाउने विषयमा जबरजस्ती नगर्न सरकारलाई व्यवसायिक संघ संस्थाहरुले पनि चेतावनी दिएका छन् । गत चैत ११ बाट सुरु भएको लकडाउन जेठ ३२ सम्म निरन्तर छ । लकडाउनले सबै क्षेत्र ठप्प भएपछि सरकारले फागुन-चैतको कर तिर्ने समय पछि सारेर जेठसम्मका लागि लम्ब्याएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.