शाखा कम खुल्दा बैंकमा ग्राहकको भीड, बैंकर भन्छन्ः थोरै कर्मचारीलाई काममा लगाउनु भनिएको थियो

  २०७७ जेठ २१ गते १२:५१     विकासन्युज

काठमाडौं । थोरै संख्यामा बैंकका शाखा खुल्दा ग्राहकको भीड लाग्न थालेको छ । सरकारले जारी गरेको लकडाउन २ महिनाभन्दा लामो समय भइसकेपछि सर्वसाधारणलाई बैंकबाट रकम निकाल्नुपर्ने वाध्यता आइपरेको छ । यसैकारण बैंकमा भीड बढेको हो ।

यस्तै, सरकारले नै ४४ प्रकारका उद्योग प्रतिष्ठान खोल्ने भनेपछि कारोबार बढेको छ । र, बैंक वित्तीय संस्थाले छोटो समयका लागि कम शाखा मात्रै खोल्दा भीड बढेको छ ।

सरकारले नै एकतिहाई कर्मचारीबाट काम गर्नु गराउनु भनेर सिमित मात्रामा पास उपलब्ध गराएपछि कम शाखा खुलेका ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले बताए ।

‘सर्वसाधारणले घरमा राखेको रकम सकियो, पछिल्लो समय थप उद्योग प्रतिष्ठान पनि खुलेका छन्, त्यसैले बैंकमा निकै ग्राहक आइरहनु भएको छ, सरकारले पास भएका गाडीबाट मात्रै स्टाफ ल्याउनु भनेको र सिमित संख्यामा पास दिएका कारण चाहेजति शाखा खोल्न पाएका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत कुँबरले भने ।

तर, सरकारले जेठ २१ गतेदेखि बैंकका कर्मचारीले आफ्नो परिचयपत्र देखाएको आधारमा हिडडुल गर्न पाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थापछि धेरै शाखा खुल्ने र भीड कम हुने बैंकको भनाइ छ । तर, २१ गते विहान कार्यालय आएका बैंकका कर्मचारीलाई प्रहरीले ठाउँठाउँमा रोकेको पनि बैंकहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले भने भीड नहुने गरी बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बढी भिडभाड हुँदा संक्रमण विस्तारको जोखिम बढी हुने भएकोले आवश्यक सावधानी अपनाएर बैंकिङ सेवा प्रभावकारी बनाउन निर्देशन दिइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘कुनै प्राविधिक समस्या छ भने त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले पहल गर्छ, भीड बढी नहुने गरी बैंकिङ सेवालाई प्रभावकारी बनाउनुस् भनेर हामीले भनिरहेका छौं,’ डा. भट्टले भने ।

सामान्य अवस्थामा बैंकहरुले विहान १० बजेदेखि दिउसो ४ बजेसम्म बैंकिङ काउन्टर खोल्ने गरेका थिए । देशभरका सबै शाखाका काउन्टर दिनभर खुल्दा पनि भीड हुने बैंकमा भने पछिल्लो समय एक तिहाई शाखा र विहान ११ बजेदेखि १ बजेसम्म मात्रै काउन्टर खुल्दा भीड बढी देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.