नेपालको ऊर्जा विकासका लागि विश्‍व बैंकले १२ अर्ब ऋण दिने

  २०७७ जेठ २१ गते १२:४९     विकासन्युज

काठमाडाैं । विश्‍व बैंकले नेपाललाई दिने भनिएकाे १० करोड अमेरिकी डलर अर्थात करिब १२ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ। काेराेना भाइरसले पारेकाे असरलाई पुनरूत्थान तथा  नेपालको विद्युत क्षेत्रको विकास र सुधारका लागि साे रकम ऋण दिने बताइएकाे छ ।

विश्‍व बैंकले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपाललाई डेपलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत उक्त ऋण दिने निर्णय गरेको हाे । साे ऋणबाट नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग पुग्‍नुका साथै विद्युत प्राधिकरणलाई थप स्वायत्त, पारदर्शी र जवाफदेशी बनाउने गरी नियम ढाँचा तयार गर्न सहयोग पुग्‍ने विश्‍व बैंकले बताएको छ।

त्यसैगरी, नेपालको जलविद्युत स्रोतको अधिकत उपयोग गरी क्षेत्रीय बजार एकीकृत रूपमा उपयोग गर्न र संघीय प्रणालीमा नेपाल विद्युत प्राधिकरणलाई पुनर्संरचना गर्न सहयोग मिल्ने विश्‍व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“संकट र संकटपछिको अवस्थामा पनि नेपालको विद्युत क्षेत्रलाई सुदृढ पार्न निरन्तर सहयोग जारी रहनेछ,” विश्‍व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर फेरिस हदाद जार्भोसले भनेका छन्।

पछिल्लो समय नेपालमा विद्युत उत्पादनमा उल्लेख प्रगति भएको, प्रणाली चुहावटमा सुधार भएको र अन्तरदेशीय प्रसारण लाइनको क्षमता विकास भइरहेकाले देश लोडसेडिङ मुक्त भएको तथा कुल जनसंख्याको ८८ प्रतिशतमा विद्युतको पहुँच पुगेको विश्‍व बैंकले उल्लेख गरेको छ।

नेपालको स्थायी र बलियो सरकारले विद्युत क्षेत्रको विकास, प्राधिकरणको व्यवस्थापन सुधार, प्रणाली चुहावटमा नियन्त्रण र प्राधिकरणको नाफामा सुधारको काम गर्ने प्रतिवद्धता व्यक्त गरेको विश्‍व बैंकले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.