छुवाछुतसम्बन्धि घटनाका अपराधीलाई सजाय दिन सरकारले कुनै सम्झौता गर्नेछैन: प्रधानमन्त्री

  २०७७ जेठ २१ गते ८:५६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धि जघन्य घटनाको अपराधीलाई सजाय दिनका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

छुवाछुत एक मानव सभ्यताको कलंक र स्वतन्त्र मानव समुदायको बाधकको रुपमा रहेको भन्दै यस्ता जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाए । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिर्दै प्रधानमन्त्री ओलीले अहिले पनि दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।’

‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’ जारी सन्देशमार्फत भने ।

मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ। त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन’ प्रधानमन्त्रीले उक्त सन्देशमार्फत उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.