आन्तरिक राजस्व विभागको उर्दीपछि व्यवसायी आक्रोशित

  २०७७ जेठ २० गते २०:०९     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व विभागले आगामी २५ गतेभित्र कर तिरिसक्न उर्दी जारी गरेपछि उद्योगी व्यवसायीहरूले तीव्र आक्रोश व्यक्त गरेका छन् । जेठ ३२ गतेसम्म लकडाउन कायम राखेको सरकारले २५ गतेभित्रै कर तिरिसक्न भनेर विभागले मंगलबार सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीहरू आक्रोशित भएका हुन् ।

अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कने अनुमति नभएको अवस्थामा तोकिएको समयभित्रै कर तिरिसक भन्नु हास्यास्पद भएको व्यवसायीहरूको भनाइ छ । ‘व्यवसायीले लकडाउनको विकल्प खोज्न बारम्बार आग्रह गर्दा पनि नटेरेको सरकार आफैंले जेठ ३२ गतेसम्म लकडाउनको मिति तोक्ने अनि व्यवसायीलाई २५ गतेभित्रै कर तिरसक भन्नु गलत हो’, सुरक्षा व्यवसायी संगठन नेपालका सदस्यसमेत रहेका डिलाइट सेक्युरेटी प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले भने । लकडाउनको बेला कर तिर्न कार्यालयसम्म पुग्ने व्यवस्था सरकारले के गरेको छ भन्दै उनले कडा प्रश्न पनि गरेका छन् ।

आम जनताको मर्का नबुझी सरकारले गरेको यो निर्णयप्रति आफू र आफू आबद्ध संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले निर्णय सच्याएर अर्को विज्ञापन जारी गर्न विभागलाई सुझाव दिएका छन् । संसारका अधिकांश देशले उद्योगी व्यवसायीका लागि विभिन्न राहत प्याकेज ल्याईरहेको अवस्थामा विभागको यो उर्दी संसारकै लागि हास्याप्पद भएको उनको टिप्पणी छ ।

तर, विभागले भने कर्मचारीको तलवभत्ता व्यवस्थापन, वर्तमान विषम् परिस्थितिमा कोरोना संक्रमतिको उपचार, राहत र अन्य कामका लागि कर उठाउनुको विकल्प नरहेको बताएको छ । सरकारले व्यवसायीकै लागि ल्याएको कतिपय छुट तथा राहतका लागि पनि कर उठाउनुपरेको विभागका भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.