प्राणी उद्यानको काम धमाधम, सडक स्तरोन्नति शुरु

  २०७७ जेठ २० गते १०:१५     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरु हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार ९ गते शिलान्यास गरेकाे उद्यानको काम केही समय रोकिए पनि अहिले उद्यान क्षेत्रको चारैतिर सडक स्तरोन्नति शुरु भएको छ ।

वन र वन्यजन्तुको प्रजनन, संरक्षण तथा अनुसन्धान गर्ने मूल उद्देश्यले निर्माण भइरहेको उद्यानको सिमाना वरिपरि १५ मिटर सडकको स्तरोन्नतिको काम सञ्चालन गरिएको पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले जानकारी दिए । पहिलो चरणमा नगरपालिका–७ स्थित गुन्डुको खहरेबाट पाथीभरा मन्दिर सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । त्यसका लागि उद्यानले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

उनका अनुसार यस क्षेत्रभित्र पर्ने सूर्यविनायक घ्याम्पेडाँडा सडक बन्द हुनसक्ने भएकाले त्यसको विकल्पका रूपमा जगातीको आदर्श चोकबाट ८ नं वडा कार्यालय हँुदै घ्याम्पेडाँडा–रानीकोट जाने एउटा सडक र गुन्डु सिमलघार, पाइलटबाबा आश्रम हुँदै घ्याम्पेडाँडा–रानीकोट जाने अर्को गरी उद्यान क्षेत्रको १३ किलोमिटर सडक निर्माण हुने भएको छ ।

ती दुईवटै सडक आर्थिक वर्ष २०७७/७८ मा निर्माण हुने जानकारी दिँदै बस्नेतले यसका लागि उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत काम हुने गरी रातो किताबमा कम्तीमा ५/५ करोड बजेट पर्ने सुनिश्चित गरेको बताए । “सरकारले यस क्षेत्रलाई वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि चयन गर्दै प्राणी उद्यानको काम अगाडि बढाउनु सूर्यविनाकका बासिन्दाका लागि मात्रै नभई सिङ्गो भक्तपुरवासीका लागि गौरवको कुरा हो, अहिले उद्यानको कार्यालय भवन निर्माण सकेर सञ्चालनमा आइसकेको छ, सीमाङ्कन गर्ने, तारबार लगाउने काम भएका छन्, पशु अस्पतालको भवन निर्माण भइरहेको छ”, सांसद बस्नेतले भने, “यसै वर्ष दुई हात्ती र केही जङ्गली जनावर ल्याएर छाड्ने योजना छ, यो आयोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न सकिन्छ, सरकारले लागत पनि पाँच वर्षभित्र उठाउन सक्छ ।”

सडक विस्तार शुरु भएपछि सांसद बस्नेतसहित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार सिंह, सदर चिडियाखाना जावलाखेलका निर्देशक किरण पोखरेल, सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सूर्यविनायक प्राणी उद्यानका व्यवस्थापन अधिकृत मिथिलेश महतो, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायत प्राविधिकसहितको टोलीले सडकको निरीक्षण गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा उद्यानको गुरुयोजनाबमोजिमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन ८ करोड रूपैयाँ विनियोजन गरिएको थियो । गुरुयोजना पास भएसँगै डिपिआरको काम शुरु भएको छ । गुरुयोजनाअनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपोन्मुख प्रजाति एवं वन्यजन्तुको संरक्षण र प्रजनन केन्द्रको स्थापना गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाह तथा उपचार गर्नका लागि पशु अस्पतालको भवन निर्माण कार्य भइरहेको छ ।

जैविक पर्यटन र जीवजन्तुको खुला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य रहेको छ । सूर्यविनायक आसपासका सात सामुदायिक वनलगायत २५५ हेक्टर वन क्षेत्र निर्धारण गरी काम शुरु भएको छ । करिब रु सात अर्ब लगानीमा उद्यान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.