हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना र प्रहरी परिचालन : ट्रम्प

  २०७७ जेठ २० गते ७:३६     विकासन्युज

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।

प्रहरी हिरासतका क्रममा एक अफ्रिकी अमेरिकी निहत्था व्यक्ति जोर्ज फ्लोइडको हत्यालाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला उनले यस्तो बताएका हुन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने, ‘दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु ।’

साे सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए । उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो । ह्वाइट हाउसबाहिर प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको थियो ।

गभर्नरलाई ट्रम्पको आह्वान

ट्रम्पले देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई आह्वान गरेका छन् । भिडिओ सम्मेलनमा ट्रम्पले दशकौंमा भएको एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको बताएका हुन् ।

यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोमोले हिंसा हुन नदिन भन्दै न्यूयोर्कमा राति ११ बजेबाट कर्फ्यू लाग्ने घोषणा गरेका छन् । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् ।

स्पेनको बार्सिलोनाबाहेक ब्रिटेन र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् । न्यूयोर्कका पूर्व परीक्षक डाक्टर माइकल बाडेनले पत्रकार सम्मेलनमा भने, ‘मेरो विचारमा हत्याको कारण घाँटीमा दबाइएकाले भएको हो । त्यसले अक्सिजनलाई दिमागमा जान रोक्छ र ढाडमा दबाउँदा सास फेर्न गाह्रो हुन्छ ।’

एक साताअघि देखापरेको भिडिओमा एकजना श्वेत प्रहरीले जोर्ज फ्लोइडले सास फेर्न गाह्रो भयो भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर रुपमा घुँडाले थिचिरहेको देखिन्छ । उक्त घटनाले देशभर अशान्त अवस्था बनाएको छ ।

अमेरिकाका विभिन्न सहरमा छैठौं दिन पनि प्रदर्शनहरू भइरहेका छन् र दशकौंमा यो स्तरमा अशान्ति नदेखिएको बताइएको छ । चिकित्सक बाडेनले फ्लोइडको मृत्यु हुनेगरी अन्य कुनै खालको स्वास्थ्य समस्या नरहेको पनि बताए ।

फ्लोइडको परिवारका वकिलले मानिसलाई नियन्त्रणमा लिने तरिकामा सुधार गरेको भए फ्लोइडको जीवन बचाउन सकिने भन्दै त्यसका लागि मिनियापलिसको प्रहरी कार्यालयलाई आरोप लगाएका छन् । (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.