क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

  २०७७ जेठ १९ गते ८:५२     विकासन्युज

दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ ।

आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै मृत्यु भइसकेको छ । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ ।

अहिलेसम्म संक्रमित ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए । कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको कारण बताइएको छ ।

त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने कामभन्दा नि व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ ।

उपचारमा चुनौती
कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ । चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिए ।

तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । भारतबाट आएका अधिकांश व्यक्तिलाई नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् ।

खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु
महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय महाबुमा आएको अध्यक्ष शाहीले बताए ।

शुरुआतमा १ सय ५० क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ । त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् ।

विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताए ।
प्रदेश सरकारले गाउँपालिकामा १५ लाख पठाएको छ । गाउँपालिकाको ५० लाख विपत् कोषको रकमसमेत सकिएको छ । दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर काम गर्नुपरेको शाहीले बताए ।

रातदिन नभनेर ६० स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका कर्मचारी खटिएका छन् । प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । भारतबाट भित्रिएका नागरिकलाई छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाए ।

पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश जीप प्रयोग गरिएको छ । मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ । जाँच गर्ने स्रोत र साधन अभाव भएको र प मानिस विनाजाँच पालिकामा भित्रिएकाले जोखिम बढ्नाका साथै व्यवस्थापनमा चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए ।

पालिकाकामा ५ सय ९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिए ।

३० प्रतिशतलाई मात्र खाद्यान्न
गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ ।
अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.