डिलरले आफूखुसी बढाए सिमेन्ट र डण्डीको मूल्य, कारबाहीको तयारीमा उद्योग र सरकार

  २०७७ जेठ १८ गते १८:१७     राजाराम न्याैपाने

काठमाडौं । लकडाउनको अवधिमा सिमेन्ट र डण्डीको उत्पादन नभए पनि सरकारको ध्यान अन्यत्रै गएको मौका छोपी डिलरले मूल्य बढाएका छन् ।

डिलरहरुले आफूखुसी मूल्य बढाए पनि लकडाउनलाई कारण देखाउने गरेका छन् । लकडाउनकै बीचमा विकास निर्माणका काम अघि बढाउने सरकारी निर्णयमा टेकेर बढी फाइदा लिन डिलर यस्तो हर्कत गरेका हुन् । पछिल्लो समय विकास निर्माणमा प्रयोग हुने सिमेन्ट र स्टीलको मूल्य बढेको हो ।

सिमेन्ट उद्योग संघ र आइरन तथा स्टील उद्योग महासंघ नै उद्योगमा मूल्य नबढेको र डिलरले आफ्नै तरिकाले मूल्य कायम गरेर बिक्री गरेको जानकारी प्राप्त भएको बताएका छन् । लकडाउनअघि उत्पादन भएको स्टक सामानको मूल्य बढाइएको उद्योगीको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले उद्योगले सिमेन्टको मूल्य वृद्धि नगरेको बताए । डिलरले बजारमा नयाँ सिमेन्ट नआएपछि स्टक सिमन्टको मूल्य वृद्धि गरेको बिक्री गरेको थापाले बताए । उनले भने सबै डिलरलाई पत्र पठाएर पुरानै मूल्यमा सिमेन्ट बिक्री गर्न निर्देशन दिने तयारी भएको जानकारी दिए ।

‘हामीले पनि बजारमा सिमेन्टको मूल्य बढ्यो भनेर सुनेका छौं, उद्योगमा सिमेन्ट थोरै मात्रामा उत्पादन भएको छ, मूल्य बढएर बिक्री गर्ने डिलरलाई पत्र काटेर पुरानै मूल्यमा बिक्री गर्न निर्देशन दिने तयारी भएको छ, बजारमा हल्ला भए जस्तो प्रतिबोरा १ सयदेखि २ सय मूल्य वृद्धि भएको छैन, १० देखि ३० रुपैयासम्म मात्रै डिलरले वृद्धि गरेका छन्, त्यसलाई पनि संघले रोक्ने छ,’ थापाले भने ।

मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ६० करोड रुपैयाँ नोक्सान हुने गरेको छ । सरकारले जारी गरेको देशव्यापी लकडाउनको कारण उद्योग बन्द भएको ६९ दिन भइसकेको छ । सरकारले चुनढुङ्गा खानी सञ्चालन गर्न दिए पनि स्थानीय तहको अबरोधको कारणले खानी सञ्चालन गर्न नसकिएको थापा बताउछन् ।

भारतमा क्लिङ्कर प्रतिटन २ हजार मूल्यवृद्धि भैसकेको अध्यक्ष थापाले जानकारी दिए । खानी संचालन गर्नुपर्ने समयमा लकडाउनका कारण उद्योग बन्द गर्नुपरेकोले भारतबाट चुनढुङ्गा ल्याउनु पर्ने अवस्था आएमा सिमेन्टको मूल्य बढ्ने उनको भनाइ छ ।

सरकारले विकास निमर्माणको कार्य अगाडी बढाउन सिमेन्ट, स्टील लगायतका उद्योग सञ्चालन गर्ने भने पनि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु भने सञ्चालन भएका छैनन् । पास नभएर मजदुरको तलबदेखि आफ्नो उद्योगसम्म जान नपाएको उद्योग बताइरहेका छन् ।

नेपाल स्टील तथा रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा शाख स्टीलका डाइरेक्टर किरण शाखले उद्योगबाट नयाँ डण्डी उत्पादन नभएको बताए । डिलरले लकडाउनभन्दा अगाडी नै उत्पादन भएको स्टील आफुखुसी मूल्य तोकेर बेचेको उनको भनाइ छ ।

‘सरकारले उद्योग सञ्चालन गर्ने मात्रै भनेको छ, तर उद्योग सञ्चालनका लागि केही व्यवस्था गरेको छैन, बजारमा बस्तु अभाव भएपछि डिलरहरुले सकेजति मूल्य लिएर बिक्री गरिरहेका छन्, नयाँ बस्तु उत्पादन नभएकोले बजारमा समस्या देखा परेकोछ,’ शाखले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले सिमेन्ट र स्टीलको मूल्य वृद्धिको बजार अनुगमन तथा निरीक्षण भहिरहेको बताए । सिमेन्ट र स्टीलका बिक्रेता डिलरहरुलाई कारवाही गर्ने तयारीमा विभाग रहेको उनको भनाइ छ । यस्तो लकडाउनको समयमा पनि कालोबजारी गर्ने डिलरहरुलाई विभागले कारवाही गर्ने आचार्यले बताए ।

नेपालमा सिमेन्ट उद्योग

नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ वटा छन् । ग्राइन्डिङ उद्योग ४० वटा छन् ।

उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर ६१ वटा उद्योग मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए ।

स्टीलको बजार

नेपालमा प्रतिमहिना करिब १ लाख मेट्रिक टन स्टील बिक्री हुने गरेको छ । आइरन तथा स्टीलको करिब १ खर्बको बजार रहेको संघले जानकारी दिएको छ । प्रतिवर्ष १३ लाख मेट्रिक टल आइरन तथा स्टील बिक्री हुने गरेको छ । ठूला लगानीका १४ वटा स्टील उद्योगहरु सञ्चालित छन् ।

One comment on "डिलरले आफूखुसी बढाए सिमेन्ट र डण्डीको मूल्य, कारबाहीको तयारीमा उद्योग र सरकार"

  • mahendra chaudhary kurmi says:

    Kapilbastu ma Pani testai cha. Mann Mani rup ma rate badheko cha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.