भौतिक पूर्वाधारमा महत्वाकांक्षी कार्यक्रमः कार्यान्वयनमा भने चुनौती

  २०७७ जेठ १६ गते १४:१६     विकासन्युज

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा भौतिक पूर्वाधार निमार्णको लागि १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेट सडक, पुल, रेल, सुरुङमार्ग निर्माणका लागि विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सरकारले राष्ट्रिय राजमार्ग र रणनीतिक सडक निर्माणमा प्राथमिकता दिएको बताए । उनले सबै स्थानीय तहमा सडकको पहुँच पुर्याउनेदेखि पूर्व पश्चिम राजमार्ग विस्तार गर्नेसम्मका सरकारको योजना रहेको सुनाए ।
उनले उत्तर–दक्षिण जोड्ने दुई लेनको सडक निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउनेदेखि प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना सुनाए ।

उनले आगामी वर्ष जिल्ला सदरमुकामलाई सडक सञ्जालमा जोड्न कर्णाली करिडोरलाई तीव्रता दिइने बताए । विकट हुम्ला सदरमुकामसम्म सडक पुर्याउन र सवै जिल्लामा सडक पुर्याउन ५ अर्ब ५७ करोड बजेट छुट्याएको उनको भनाई छ । प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढि स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड बजेट छुट्याएको समेत उल्लेख गरे ।

अर्थमन्त्रीले भौतिक पूर्वाधारमा मत्वाकांक्षी कार्यक्रम प्रस्तुत त गरेका छन् तर त्यसको कार्यान्वयनमा भने अवश्य नै चनौती छ । पूर्वाधारविज्ञ किशोर थापाले सडक, पूल लगायतका भौतिक पूर्वाधारहरुका कार्यक्रमहरु राम्रै रहेपनि यसको कार्यान्वयन गर्न भने कठीन हुन सक्ने उनले बताए ।

‘सडक पूलमा ठूलै रकम छुट्याएको छ, केही कार्यक्रमहरुको लागि पहिले देखि नै बजेट छुट्यायँदै आएको थियो, तर काम भने हुन सकेको थिएन, अब काम गर्ने निकायहरुले यसलाई गहन रुपमा लिएर कार्यान्वन तर्फ ध्यान दिनुपर्छ, उनले भने ।
अब कोरोनाको जोखिमकमा पनि जे जति गर्न सकिन्छ दशैं अगाडि कागजी प्रक्रिया पुरा गरी र दशैं पछाडि काममा तीव्रता दियो भने अगाडि बढ्न सकिने उनको भनाई छ ।

सडक सम्बन्धि कार्यक्रम

–पूर्वपश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरुपको डेडिकेटेड चार लेनको सुरक्षित द्रुत सडक बनाउन १२ अर्ब २१ करोड विनियोजन गरिएको छ ।

–मध्यपहाडी क्षेत्रको पुष्पलाल राजमार्गको बाँकी काम आगामी तीन वर्ष्भित्र पूरा गर्ने गरि ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ ।

– तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग पनि आगामी तीन वर्षभित्र पूरा गरि आगामी आवमा ७ अर्ब १ करोड बजेट छुट्याएको छ ।
– निर्माणधीन मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।

– मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण तथा विस्तारका लागि ७ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

– तराई मधेसको समृद्धि सँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड बजेट छुट्याएको छ ।

– काठमाडौं—निजगढ द्रुतमार्गका लागि आगामी तीन बर्ष भित्र सम्पन्न गर्ने गरी आगामी वर्ष ८ अर्ब ९३ करोड छुट्याएको छ ।
– हुलाकी राजमार्गको बाँकी काम सक्न ७ अर्ब १ करोड विनियाेजन गरेकाे छ ।

– नौविसे सुरुङमार्ग र बुटवलको सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने छ । सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड बजेट छुट्याएको छ । निर्माण सम्पन्न भइ आरामदायी र स्तरोन्नती गर्न सडक बनाउन १६ अर्ब २० करोड बजेट छुट्याएको छ ।

– सडक राजमार्गमा २ सय १० पुल सम्पन्न गर्न १० अर्ब ९१ करोड बजेट छुट्याएको छ ।

– विपी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–सर्लेरी सडक, राप्ती राजमार्ग, कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड र दैलेख, घोराही, थवाङ, मुसिकोट सहिद मार्गको स्तरोन्नतीका लागि बजेट छुट्याएको छ ।

–दक्षिण सीमाका प्रमुख व्यापारिक नाकाहरु र पूर्व पश्चिम राजमार्ग जोड्ने सडकलाई औद्योगिक कोरिडोर तथा व्यापारिकको रुपमा स्तरोन्नति गर्न १ अर्ब ९६ करोड विनियाेजन गरिएकाे छ ।

–सूर्य विनायक–धुलिखेल खण्डको स्तरोन्नति गर्न र कान्ति राजपथ निर्माणको काम पूरा गर्न १ अर्ब २० करोड विनियाेजन गरिएकाे छ ।

–दोस्रो चरणको चक्रपथ विस्तार र कलंकी–कोटेश्वर सडक खन्डमा फ्लाइओभर बनाउन आवश्यक बजेट विनियाेजन गर्ने बताइएकाे छ ।

रेल मार्ग

– सरकारले पूर्व—पश्चिम विद्युत्तीय रेलमार्ग र रेल सञ्चालन गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।

–  पुर्व पश्चिमी विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्याता अध्ययन सम्पन्न गरी काकडभिट्टा, इनरुवा खण्डको निर्माण आरम्भ गर्न, रसुवागढी-काठमाडौं र विरगञ्ज-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्याता अध्ययन कार्य सम्पन्न गरिने छ ।

– दक्षिणी नाकाबाट पुर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी–निजगढ–बुटवल र कोहलपु जोड्ने रेलमार्गको निर्माण गर्न जयनगर–जनकपुर–विजलपुर खण्डमा रेल सञ्चालन गर्न र बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरिने छ ।

सुरुङमार्ग र फ्लाई ओभर

अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न क्षेत्रको सुरूङ मार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको बताएका थिए । बजेटमा उनले कलंकी–कोटेश्वरमा ३ वटा फ्लाई ओभर बनाउने पनि बताएका छन् ।

तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतीघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए । उनले काठमाडौं–नौविस सुरङमार्ग निर्माण गरिने, काठमाण्डौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग निर्माण गरिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.