बजेट हल्लामुखी छ, कार्यान्वयन नै हुँदैन, देशलाई ऋणको भारी मात्रै बोकाउँछः डा. महत

  २०७७ जेठ १६ गते १२:३१     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट हल्लामुखी मात्रै भएको बताएका छन् ।

सरकारले विगत २ वर्षको प्रगति भन्दै घोषणा गरेका उपलब्धी विगत २ दशकको उपलब्धी भएको भन्दै उनले बजेटको आकार बढाएको, उठ्न नसक्ने राजस्वको लक्ष्य राखेको र लिन नसक्ने ऋणको लक्ष्य राखिएको बताए ।

यस्तै, उनले यो बजेट अत्यन्तै महत्वाकांक्षी र भविष्यको पिडीलाई अत्यन्तै अप्ठेरो पार्ने गरी बजेट ल्याइएको उनले बताए ।

‘आन्तरिक र वाह्य ऋण गरी करिब ३६ प्रतिशत छ, जीडीपीको ५ प्रतिशतभन्दा बढी (२ खर्ब २५ अर्ब रुपैयाँ) आन्तरिक ऋण लिने भनिएको छ, यसले बजारमा तरलताको अभाव हुने र आगामी पुस्ताको लागि ऋणको भारी बोकाउने नै हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा उनले भने ।

उनले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि महत्वाकांक्षी नै रहेको बताए । साना तथा मझौला उद्यम व्यवसायलाई दिइएको कर छुट राम्रो भए पनि कर्पाेरेट कर कम गर्नेमा त्यसो नगरिएको उनको भनाइ छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्नेमा १५० प्रतिशत कर लगाएर निरुत्साहित गर्न खोजिएको उनको भनाइ छ । उनले विद्युत महसुल घटाउनु पर्नेमा त्यसो पनि नगरिएको आरोप लगाए ।

निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनालाई राहत दिनु पर्नेमा सरकारले त्यस्तो कार्यक्रम पनि नल्याएको डा. महतको भनाइ छ । यस्तै, विदेशबाट आउने फर्निचरमा अन्तशुल्क लगाउने भनेर के गर्न खोजिएको हो भन्ने उनले प्रश्न गरे ।

‘विदेशबाट आउने सामानमा अन्तशुल्क लिइदैन, यस्तो अवस्थामा भन्सार बढाउनु पर्ने हो, यसमा अन्तशुल्क बढाएर के गर्न खोजिएको हो भन्ने मैले बुझेको छैन,’ डा. महतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.