राजस्व असुली, वाह्य ऋण र आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन गाह्रो छः पूर्वअर्थमन्त्री पाण्डे

  २०७७ जेठ १६ गते ११:५६     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले बजेटले लिएका ३ वटा कार्यक्रमको लक्ष्य पूरा गर्न कठिन भएको बताएका छन् ।

बजेटले राखेको ७ प्रतिशत आर्थिक लक्ष्य, वाह्य ऋण ल्याउने र राजस्व असुलीको लक्ष्य पूरा गर्न कठिन देखिएको उनले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भर्चुअल छलफलमा उनले यस्तो बताएका हुन् ।

‘चालु खर्च घटाउने भनेर केही कार्यक्रम नै आएका छन् । यो राम्रो हो । तर राजस्वले चालु खर्च नै ६० अर्ब रुपैयाँ नपुग्ने जस्तो देखियो । त्यसैले आन्तरिक ऋणबाट लिइएको पैसा पनि चालु खर्चमा लगाउनु पर्ने वाध्यता आइपर्छ । यो भयो भने ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्यलाई असर पार्छ,’ पाण्डेले भने ।

यस्तै, आपूर्ति प्रणलीमा परेको असर र अर्थतन्त्रमा आएको मन्दीका कारण राजस्व असुलीको लक्ष्य पूरा गर्न पनि गाह्रो हुने उनको भनाइ छ । लक्ष्य अनुसार राजस्व उठेन भने चालु खर्चको लागि पनि आन्तरिक ऋण प्रयोग गर्नुपर्ने वाध्यता आइपर्ने उनको आकलन छ ।

उनले रोजगारी सिर्जनामा पनि धेरै ध्यान दिनुपर्ने आवश्यकता आकलन गरे ।

‘रोजगारी सिर्जनाको लागि धेरै मन्त्रालयका कार्यक्रम छन् । यस्तो हुँदा एउटाले अर्काेलाई देखाएर कार्यान्वयनमा समस्या आउन सक्छ,’ उनले भने ।

उनले बजेट खासै महत्वाकाक्षी नरहेको भन्दै अहिले जस्तो बजेट आउनु पर्ने आवश्यकता थियो, त्यस्तै आएको बताए ।

अस्पताल बनाउनु भनेको भवन बनाउनु मात्रै होइन, त्यहाँ डाक्टर र स्वास्थ्यकर्मी बस्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने उनको भनाइ छ ।

रोजगारी सिर्जनाको लागि सबै कार्यक्रमलाई एउटै बास्केटबाट संचालन गरेर बैंक तथा वित्तीय संस्थामार्फत विशेष शीप र क्षमता भएका व्यक्तिहरुलाई सोही प्रकारको उद्यम व्यवसाय गर्न शुन्य व्याजदरमा निश्चित अवधीसम्मको ऋण दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.