सामाजिक सुरक्षा कोषबाट ५ प्रतिशत व्याजमा कर्जा सुविधा

  २०७७ जेठ १६ गते ११:४७     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले ५ प्रतिशत व्याजदरमा कर्जा सुविधा दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको बजेटमा कोभिड १९ को मारमा परेका रोजगारदाताले श्रमिककाे तलव भुक्तानीकाे लागि सामाजिक सुरक्षा कोषबाट कर्जा लिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त कर्जाको व्याज करिब ५ प्रतिशत हुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । नेपाल राष्ट्र बैंकले दिने पुर्नकर्जाको व्याजदर ५ प्रतिशत तोकिएकोले सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने कर्जाको व्याजदर पनि त्यसैको हाराहारीमा हुने उनले बताए । व्याजदरबारे अन्तिम निर्णय कोषको सञ्चालक समितिले तोक्नेछ ।

बजेटमा संगठिन क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नु पर्ने रकम लकडाउन अवधिभरको लागि नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सो रकम सम्बन्धित प्रतिक्ष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीको रुपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भए पश्चात कोषमा जम्मा गर्नुपर्ने भनिएको छ ।

लकडाउन भएपछि चैत महिनादेखि कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम अर्थात १८ करोड भन्दा बढी रकम सरकारले सामाजिक कोषलाई निकासा दिएको छ । यस्तो रकम बैशाख र जेठको सरकारले अनुदानको रकम दिनेछ ।

तीन महिनाको करिव ५५ करोड रुपैयाँ सरकारले सामाजिक सुरक्षा कोषलाई दिने छ । सोही रकम बराबर कर्जा सापटीको रुपमा कोषले रोजगारदातालाई दिन सक्ने उनले बताए ।

सामान्य अवस्थामा पनि योगदानकर्ताले कोषमा बचत भएको निश्चित रकम कर्जाको रुपमा लिनसक्ने व्यवस्था पनि गर्न लागिएको र त्यसको लागि कोषको बीमाङ्कीय मूल्याङ्कन भईरहेको उनले बताए । तर यस्ताे कर्जा सुविधा कर्मचारी संचय काेष वा नागरिक लगानी काेषले दिनेजस्ताे बचतकाे ८०/९० प्रतिशत नहुने उनले बताए ।

त्यस्तै, सरकारी अंगमा वा सार्वजनिक संस्थानमा करारमा, अस्थायी, ज्यालादारीका रुपमा कार्यरत कर्मचारीको कोषमा नियमित बचत हुने व्यवस्था सरकारले गरेको छ । नयाँ व्यवस्थासँगै निजामतिबाट करिव ३६ हजार कर्मचारीहरुले कोषमा थपिने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । सरकारी संस्थानबाट थपिन सक्ने कर्मचारीको तथ्याङ्क भने उपलब्ध नभएकाे उनले बताए ।

त्यस्तै, विभिन्न नामका अवकास कोषहरु सामाजिक सुरक्षा कोषमा समाहित गर्ने कार्यक्रम बजेटमा आएको छ । ७७ चैत्र मसान्तभित्र त्यस्ता कोषको रकम सामाजिक सुरक्षा कोषमा आवद्ध हुने अवकास काेषहरुलाई कर नलाग्ने व्यवस्था बजेटमा गरिएकाे छ । सामाजिक सुरक्षा कोष स्थापाना भईसकेपछि अन्य अबकाश कोषहरु आवश्यक नभएको एउटै सामाजिक सुरक्षा काेषकाे अवधारणामा सरकार जान लागेकाे उनले बताए ।

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा व्यक्तिको हदमा ४ लाख रुपैयाँसम्म र परिवारको हदमा ४ लाख ५० हजार रुपैयाँसम्म १ प्रतिशत सामाजिक सुरक्षा कर नलाग्ने ज्ञवालीले प्रष्ट पारे । गत यस्तो सुविधा ४ लाख रुपैयाँसम्म आय हुनेको लागि थियो । यस वर्षदेखि परिवार भएको व्यक्तिले ४ लाख ५० हजार रुपैयाँसम्ममा पुरै आयकर छुट पाएको उनले बताए ।

आर्थिक विधयकको दफा ७ मा उल्लेख गरिएको १ प्रतिशत सामाजिक सुरक्षा कोष कर कोषमा आवद्ध नभएका श्रमिकको हदमा मात्र लागू हुने उनले बताए ।
कोषमा अहिलेसम्म सूचिकृत श्रमिकको संख्या १ लाख ६० हजार भएको छन् । १२ हजार ३०० कम्पनी कोषमा आवद्ध भएका छन् । आगामी आर्थिक वर्षभित्रमा ५ लाखभन्दा बढी श्रमिक कोषमा आवद्ध गर्ने लक्ष्य कोषले लिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.